
काठमाडौं । अभिनेता नीर शाहले आफ्नो ६० वर्ष लामो अभिनय करिअरमा २ सयभन्दा बढी फिल्ममा काम गरेका छन् । तर, उनी आफ्नै फिल्म हेरेर रोएका दृश्य विरलै देखिएको छ । सुन्धारास्थित क्यूएफएक्स हलमा आयोजित फिल्म ‘परान’को प्रिमियरमा भने उनले आँसु रोक्न सकेनन् । फिल्म सकिएपछि उनी केहीबेर आँखा छोपेर रोइरहे, जसले प्रिमियरको माहोल नै स्तब्ध बनायो । फिल्ममा उनले धर्मनाथको भूमिका निभाएका छन्, जसको चाहना कान्छो छोरा आफूसँगै रहोस् भन्ने छ । एक बाबुको संवेदनशील पात्रमा जीवन्त अभिनयले गरेका उनले बाबु–छोराको भावनात्मक उतारचढावका दृश्यमा भने आफूलाई सम्हाल्न सकेनन् । उनको उम्दा अभिनयले प्रिमियरमा उपस्थित दर्शकहरू पनि भावविह्वल बनेका थिए । धेरैले धर्मनाथको पात्रमा आफ्नो बुबालाई सम्झिए ।









