
– डा. तुलसी भट्टराई ÷ उद्धव उपाध्याय ÷ महेन्द्रप्रकाश सिवाकोटी –
मैले सानोबुबाले भनेअनुसार गरेँ । त्यो रुपियाँ लुकाएर राख्नुपर्ने कारण बारे मैले पहिले थाहा पाइनँ । वास्तवमा घरमा रुपियाँ पैसाको जहिले पनि फिटिफिटी परिरहने । सानोबुबासँग पैसा भएको थाहा हुनासाथ खर्च भइहाल्ने । उहाँलाई सायद कसैले यो रुपैयाँ दिएको थियो होला, जुन उहाँले मलाई लुकाउन दिनुभएको थियो ।
म र इन्दिराबीच प्रेम चल्दै थियो । जनमत सग्रहपछि हामीबीच अक्सर भेटघाट हुन्थ्यो । नेपाल विद्यार्थी संघकी कार्यकर्ताको हैसियतले उनी चाबहिलको घरमा आइरहन्थिन् । हाम्रो प्रेमले निकास पाउन विवाह हुन जरुरी थियो । मैले यो कुरा मुमालाई भनेँ । मुमाले सानोबुबालाई सोध्न भन्नुभयो । त्यसो त हाम्रो परिवार त्यस मामिलामा उदार छ । तै पनि मनको कुनै कुनामा डर र संकोच थियो । जति उदार भएपनि हामी अदबमा बस्थ्यौ । अग्रजले भनेको बयान काट्न कसैको तागत थिएन । म आफूलाई तयार पारेर सानोबुबा समक्ष गएँ, कुरा राख्नासाथ उहाँले स्वीकृति दिनुभयो । त्यतिमात्र होइन हाम्रो विवाहको प्रस्ताव मेरा ससुरा शिवघ्वज बस्नेत समक्ष राख्नुभयो । विवाह काठमाडौबाट गर्ने सोच थियो । हामी काठमाडौमै थियौ र ससुराली यहीँ थियो । तर सानोबुबाले भन्नुभयो, विवाह विराटनगरबाट हुन्छ ।
यसले निश्चय नै ससुरालीतिर कठिनाइ भयो होला । तर सानोबुबाको सोचाइ बेग्लै रहेछ । एकातिर विराटनगरप्रति यहाँको मनमा रहेको स्नेह यमास झल्किन्छ भने विवाहलाई आप्mनै शैलीमा सम्पन्न गर्ने उहाँको मनसाय प्रतिविम्बित हुन्छ । परम्परागत निमन्त्रणा पत्रको साटो उहाँले आप्mनो नाममा निम्ता बाँड्नुभयो । निम्ताको आसय थियो – उहाँका दाजु तारिणीप्रसादका छोरा अर्थात् मेरा भतिजाको विवाह सम्पन्न हुँदैछ । यस विवाहमा तपाई र तपाईका सम्पूर्ण साथी उपस्थित हुनुहोला । सानोबुबाले निम्तापत्रमा हस्ताक्षर गर्नुभयो । साइकोस्टाइलमा लिथो यस निम्तोको सयौ प्रति बनाएर पूर्वाञ्जल लगायत विभिन्न जिल्लाका पार्टी सभापति र सचिवलाई सम्बोधन गरेर बाँडियो । पार्टीका मानिसको अत्यधिक सहभागिता थियो । त्यसमा आफन्तजनको सहभागिता स्वाभाविक थियो । इन्दिरा र मेरो दाम्पत्य जीवन स्थापनामा सानोबुबाको भूमिका सम्झिँदा हामी दुवैलाई गर्व लाग्छ ।
सानोबुबा कसैको सल्लाह नलिई एकोहोरो ढङ्गले चल्ने व्यक्ति भनेर प्रचारित हुनुुहुन्छ । वास्तविकता त्यो होइन । उहाँ सरसल्लाह गर्नुहुन्थ्यो । कहिलेकाँही त्यस्ता सल्लाह विवादास्पद पनि हुँदोरहेछ । त्यस्तै एउटा घटना म सम्झिन्छु । सानोबुबा प्रधानमन्त्री हुनुहुन्थ्यो । थाई एयरवेजको जहाज बेपत्ता भयो । दुर्घटनाको आशङ्का व्याप्त थियो । दर्जनौ यात्रुसहित त्यस जहाजमा निरञ्जन कोइरालाको पत्नी, नोना कोइरालाकी बुहारी सन्तोषसमेत हुनुहुन्थ्यो । हामी निकै चिन्तित थियौ । यो चिन्ता जनमानसमा पनि व्याप्त थियो । जहाज पत्ता नलागेकोमा सरकारको व्यापक आलोचना भइरहेको थियो । नेपाली सेना र प्रहरी खोजीकार्यमा जुटेका थिए । मलाई कसैले भन्यो, भारतीय सेना यो खोजीकार्यमा प्रभावकारी हुनसक्छ । मैले यही कुरा सानोबुबालाई भनेँ । उहाँले भारतीय पक्षसँग यसबारे कुरा गर्नुभयो । यो मुलतः मानवीय संवेदनासँग गाँसिउको प्रश्न थियो । तर, दरबारले यसलाई बेग्लै रुपमा लिएछ । भारतीय सेनाले नेपाली भूभागमा हराएको जहाज खोजी गर्नुलाई राष्ट्रियतासँग जोडेर राजा वीरेन्द्र सानोबुबासँग नराम्ररी रिसाएछन् । मलाई यस घटनाबारे अफसोच छ । मेरो कारण सानोबुबा कसैका सामु लज्जित हुनुपरेको थियो ।
अदब, अनुशासन र एकता कोइराला परिवारमा हामीले अग्रजबाट सिकेका गुण हुन् । सानोबुबाहरुको पुस्ताले अदब र अनुशासनलाई अत्यन्त कठोरताका साथ पालना ग¥यो । यस परम्परालाई कोइराला परिवारको आजको पुस्ताले भोलीको पुस्तालाई हस्तान्तरण गर्न सक्ला ?क्रमशः









