
– अर्जुननरसिंह के.सी. –
तर काँग्रेसले आफ्ना संघर्षशील गतिविधिहरु जारी राख्न छोडेन । २०१७ सालपछि २०३३ सालसम्म सहादत र बलिदान चढाउने गतिविधिमा अधिकाँश काँग्रेसका कार्यकर्ताहरु नै थिए । पञ्चायतलाई २०३६ सालमा जनमत संग्रहको कठघरामा उभ्याउने बिसवर्षको एकल संघर्ष काँग्रेसले मात्र चलायो ।
घोर निराशाको त्यस्तो कालखण्ड (२०१७–०२५) मा देशभित्र पार्टी कार्यकर्ताहरुको लागि सहाराको एकमात्र नेता सूर्यप्रसाद उपाध्याय हुनुहुन्थ्यो । उहाँ पनि गिरफ्तार भई आठ महिनाको जेल बसाईबाट २०१८ साउन अन्तिममा छुटेपछि कार्यकर्ताहरुले राहतको सास फेर्न पाए । त्यसपछिका आठवर्ष (२०१८–२०२५) सम्म देशभित्र कार्यकर्तालाई सहयोग र समन्वय गर्ने जिम्मेवारी उहाँ एक्लैले बोक्नुभयो भने देशबाहिरबाट सुवर्ण शम्शेरले बोक्नुभयो । तर २०२५ सालको अवधिमा तीनवटा राजनीतिक लाईनमा काँग्रेस देखिन्थ्यो – बीपीको सशस्त्र क्रान्ति जारी राखी निर्णायक दबाब पैदा गर्ने लाईन, सुवर्ण शम्शेरको राजासँग सहयोगात्मक सम्बन्ध राखेर काँग्रेसको शक्तिसञ्चय गर्ने लाईन र कृष्णप्रसाद भट्टराईको पञ्चायतका विरुद्धको संघर्ष सशस्त्र होइन शान्तिपूर्ण र सत्याग्रहमा आधारित संघर्ष हुनुपर्छ र शान्तिपूर्ण संघर्ष विदेशी भूमिबाट होइन देशभित्रैबाट गर्नुपर्छ भन्ने थियो ।
२०२५ सालमा नेताहरुको रिहाई २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना र २०३३ सालको मेलमिलाप गतिविधिले स्वदेशभित्र प्रजातन्त्रको भाग्य र भविष्यले पुनः पालुवा हाल्न पायो । जनमत संग्रह २०३६ त्यसैको उत्साहजनक परिणाम थियो ।
राष्ट्रिय मेलमिलाप तथा एकता
२०३३ सालमा बीपी कोइराला र गणेशमान सिंहले सयौ कार्यकर्ताहरु सहित राष्ट्रिय मेलमिलाप र एकताको नारा लिएर लामो निर्वासनबाट स्वदेश फर्किनुभएको थियो । राष्ट्रिय एकताको निमित्त राष्ट्रिय मेलमिलाप नीतिको के प्रयोजन छ ?
राष्ट्रिय राजनीतिमा पुस महिना दूरगामी प्रभाव पार्ने आसाजनक र निरासाजनक असाधारण घटनाहरुको मिश्रणको रुपमा आउँछ । पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भलाई सम्झिँदा पुस १ गतेको निरंकुश शासकीय कदम, पुस २२ गते सम्पूर्ण पार्टीहरुमाथिको प्रतिबन्धबाट मुलुकको लोकतान्त्रिक इतिहासमा कालो अध्यायका रुपमा स्वतः सम्झना हुनेगर्छ । जननायक बीपी कोइराला र सर्वमान्य नेता गणेशमान सिंहले २०३३ साल पुस १६ गते ८ वर्ष लामो निर्वासन तोड्दै राष्ट्रिय मेलमिलाप तथा एकताको आह्वानका साथ स्वदेश फर्केको जस्ता दिनहरु यही महिनामा आउँछन् । तर मेलमिलाप दिवसले पुस १ गतेको त्यो क्रुरतम घटनालाई बिर्साउन कदापि सक्दैन । संयोगले २०६२÷६३ पछि ०६३ को अन्तरिम संविधान पनि पौष २ गते जारी हुन आयो ।
बीपी कोइरालाले मुलुकको अस्तित्व खतरामा परेको ठहराएर गणेशमान सिंह, शैलजा आचार्यसहित हजारौ काँग्रेसजनका साथ निर्वासनबाट स्वदेश फर्किने र स्वदेशमै बसेर प्रजातन्त्र प्राप्तिका लागि काम गर्ने घोषणा गरी ठूलो साहसका साथ जोखिम मोलेर फर्किनुभयो । सो दिन बीपी ले दिनुभएको देशबासीको नाउँमा अपील ले आजको सन्दर्भलाई पनि सटीक सम्बोधन गर्दछ – आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोबृत्ति र विदेशपट्टी आमुख हुने प्रबृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिले राष्ट्रियताको हत्या हुन्छ ।
सन् ७० को दशक, समकालीन विश्वमा शीतयुद्ध पराकाष्ठामा पुगेको अवस्था थियो । शीतयुद्धकै सिलसिलामा विकासोन्मुख मुलुकहरुका लागि आप्mनो अस्मिता जोगाउने ठूलो चुनौती आईलागेको थियो । क्रमशm









