
काठमाडौं । धनुषा, मिथिला नगरपालिका–३ लालभित्तीमा ना.६ ख ६५७८ नम्बरको ट्रक र प्र.१–०२–००१ ख ९२९२ नम्बरको ट्रक एक–आपसमा ठक्कर खाई बिहान दुर्घटना हुँदा ना.६ ख ६५७८ नम्बरको ट्रक चालक सुनसरी ईनरुवा बस्ने २८ वर्षीय सागर चौधरी र दुबै ट्रकको सह–चालक २ जनासमेत गरी ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरुको ढल्केवर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.१–०२–००१ ख ९२९२ नम्बरको ट्रक चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । सिरहा, कर्जन्हा नगरपालिका–२ कमला पुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले बा.५७ प ७२० नम्बरको मोटरसाइकललाई राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–२ बडरामाल बस्ने ४२ वर्षीय ठाकुरनाथ खतिवडाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सिन्धुली, हरिहरपुरगढी गाउँपालिका–५ भलखाडामा बा.प्र.०३–००५ प ३८६७ नम्बरको मोटरसाइकल र प्र.२–०३–०१३ प ३४४६ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई दिउँसो दुर्घटना हुँदा बा.प्र ०३–००५ प ३८६७ नम्बरको मोटरसाइकल चालक मकवानपुर हटौंडा उपमहानगरपालिका–६ चौघडा बस्ने २१ वर्षीय प्रनिस चौलागाईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.२–०३–०१३ प ३४४६ नम्बरको मोटरसाइकल चालकलाई प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट हुँदै थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ । काठमाडौं महानगरपालिका–९ तिलगंगास्थित सडकमा बा.१७ च ५८६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका–७ घर भएका ४७ वर्षीय चन्दर गोसाईको मृत्यु भएको छ । गाडीको ठक्कर गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका गाडीका सह–चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच तिनाउ गाउँपालिका–३ झुम्साबाट नियन्त्रित लागूऔषध नुर्फिन ५० एम्पुल, डाइजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित कास्की अन्नपूर्ण गाउँपालिका–५ बिरेठाटी बस्ने ३५ वर्षीय संजय मुल्मीसमेत २ जनालाई साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले ग.३ च ५९०१ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।









