
काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ३० ट्याबलेट, २ थान चरेशसहित रामेछाप मन्थली नगरपालिका–२ बस्ने १९ वर्षीय बिष्णु बस्नेतलाई बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रूपमा खटिएको टोलीले धरानदेखि काठमाडौंतर्फ आउँदै गरेको ना।७ ख ९३६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । धादिङ, गजुरी गाउँपालिका–१ गजुरी बजारबाट अवैध लागूऔषध गाँजा ९ केजी ८ सय ७५ ग्रामसहित २ जनालाई बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका–६ बस्ने २७ वर्षीय प्रकाश पोख्रेल र गजुरी गाउँपालिका–६ बस्ने ३६ वर्षीय ओम बहादुर मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु।१ ख ९९१७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार प्रकाशको साथबाट ४ केजी २ सय ग्राम र ओम बहादुरको साथबाट ५ केजी ६ सय ७५ ग्राम गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ७० ट्याब्लेट, लुपिजेसिक २ एम्पुल, एभिल २ एम्पुल, फेनारगन २ एम्पुल र डाइजेपाम २ एम्पुलसहित २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–३ बस्ने १९ वर्षीय सुनिल राई र सोही ठाउँ बस्ने २० वर्षीय प्रदिप लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।









