
– अर्जुननरसिंह के.सी. –
तर पनि काँग्रेसले विभिन्न प्रशिक्षण शिविर, वृक्षारोपण, रक्तदान, सरसफाइ जस्ता रचनात्मक क्रियाकलाप चलाउँदै आयो ।
२०३७ साल जेठ ८ गते राजाले पूर्वप्रधानन्यायाधीश वासुदेव शर्माको अध्यक्षतामा ११ सदस्यीय संविधान सुधार सुझाव आयोग गठन गरेका थिए । सो आयोगलाई काँग्रेसको तर्फबाट प्रजातान्त्रीकरणका सातसूत्रीय सुझाव दिनुभएको थियो । तर जनमत संग्रहको बेला दिइएका वाक तथा प्रकाशन स्वतन्त्रता, संघ संस्था स्थापनामा बन्देज लगाउँदै पञ्चायतलाई क्रमशः पहिलेकै अवस्थामा पु¥याउने काम हुनथाल्यो । निर्वाचनमा भाग लिन ६ वटा वर्गीय तथा व्यावसायिक संगठनहरुमध्ये एउटा संगठनको सदस्यता लिनैपर्ने प्रावधान राखियो । अल्पमतलाई समेट्ने जनमत संग्रहको राजाको आश्वासन झुठो सावित हुँदैगयो ।
श्रीभद्र शर्माको प्रयास ः पञ्चायतलाई प्रजातन्त्रीकरण गर्ने, यसलाई अधिनायकवादी बाटोमा जान नदिने र यस निम्ति आन्तरिक दबाबलाई व्यवस्थित र सशक्त बनाउने उद्देश्यले २०३६ साल साउन २२ गते, जयतु संस्कृतमका एक अभियन्ता, काँग्रेसका २०१७ कालिन महामन्त्री तथा प्रजातान्त्रिक स्कुलिङमा परिपक्व राजनीतिक व्यक्तित्व बनाउनु भएका श्रीभद्र शर्मा सहित डीपी अधिकारी, द्रोण शमशेर, बमबहादुर कठायत लगायतका एकथरि पञ्चहरुले आन्तरिक दबाब समूह जिन्जर ग्रुप गठन गर्नुभएको थियो । वास्तवमा यो समूह बहुदलीय पक्षमा आउन लालयित थियो । बहुदल पक्षधरको असावधानीले गर्दा उहाँहरुको प्रयास सार्थक हुन पाएन ।
लेखकसँगको कुराकानीमा आफू परिस्थितिगत विवशताले गर्दा हुत्तिएर पञ्चायतमा पुगेको र अनुकुल वातावरण पाए काँग्रेसमै फर्किने बताउनु हुने श्रीभद्र पञ्चायतमा प्रवेश गरे तापनि प्रजातन्त्रका आधारभूत आदर्श र आचरणको विपरीत भएर काँग्रेसलाई अहित हुने काम गरेको पाइन्न । जनमत संग्रहमा उहाँको तनहुँ जिल्लामा बहुदलीय पक्ष विजयी भएको थियो ।
पञ्चायती आमनिर्वाचन ः
पञ्चायती आमनिर्वाचनमा पार्टीगत रुपले सहभागी हुने स्थिति देखिएन । यसबीच काँग्रेसले ५ वटा क्षेत्रीय भेलाहरु गरी जिल्ला तहबाट कार्यकर्ताका राय–सुझाव लिने काम भयो । अन्ततः काँग्रेस पञ्चायती निर्वाचन बहिस्कार गर्ने निष्कर्षमा पुग्यो । २०३७ चैत्र १८ गते काठमाडौको विशाल आमसभामा बीपीले भन्नुभयो, पञ्चायती आमनिर्वाचनकै समयमा हामी नेपाली काँग्रेस पनि जनतामा जान्छौ, तर अर्कै भूमिकामा । हाम्रो भूमिका हुनेछ, जनतासँग भोट माग्ने होइन भोट बहिष्कार गरौ भन्ने ।
चुनाव बहिस्कार गर्दै हिँडेका १०९ जना कार्यकर्ता गिरफ्तार भए । तीमध्ये अधिकाँश काँग्रेस थिए । बीपीको निधन २०३९ साउन ६ भएपछि पञ्चायतको पूर्वस्थिति बहालीक्रम अझ तिव्र भयो । सुधारिएको पञ्चायतका लागि जालझेल प्रपञ्च गरी जितेपछि उही नसुध्रिएको पञ्चायती दुस्साहस कायम रहयो । काँग्रेसले पञ्चायती आमनिर्वाचनमा भाग लिन वर्गीय संगठनको सदस्यता लिनैपर्ने प्रावधान हटाउनुपर्ने, समुहगत र एउटै निर्वाचन चिन्हमा देशभरि निर्वाचनमा भाग लिन पाउनुपर्ने लगायतका ५ वटा माग प्रस्तुत गरेको थियो । यसको पनि सुनुवाई नभएपछि काँग्रेस पञ्चायती निर्वाचन बहिस्कार गरी देशव्यापी सत्याग्रहको तयारीमा लाग्यो ।
काँग्रेसको सत्याग्रह २०४२
प्रजातन्त्रको पुनस्र्थापना गर्नु, राष्ट्रिय शक्तिलाई सक्रिय र संगठित बनाउनु र प्रजातन्त्रवादीहरुको चिन्तन, ध्येय, लक्ष एवं नैतिक जीवनलाई उच्च र स्वच्छ तुल्याउनु २०४२ सालको सत्याग्रहका तीन प्रमुख उद्देश्य थिए । यसका लागि काँग्रेसले सातसूत्रीय माग राखी २०४२ जेठ १० बाट देशव्यापी सत्याग्रह आन्दोलन चलायो, जसको प्रभाव ५६ जिल्लामा पुगेको थियो । क्रमशः









