
– डा. तुलसी भट्टराई ÷ उद्धव उपाध्याय ÷ महेन्द्रप्रकाश सिवाकोटी –
त्यसबेला आनन्दको मुद्रामा गिरिजा दाजुले भन्नुभउको थियो, करिब ६ दशकअघिको मजदुर आन्दोलन सफल भयो । अब यो देशको मालिक जनता आफैँ भए । प्रजातन्त्रका लागि अब साँच्चिकै नयाँ पुस्ताले फेरि आन्दोलनमा उत्रनु पर्दैन ।
बालकृष्ण दाहाल बिकेडी कोइरालाका निजी सचिव हुन् । उनी यहाँ कोइरालाका दैनिक जीवन चर्या रोचक ढङ्गमा प्रस्तुत गर्दछन् ः
गिरिजाबाबु अर्थात् सानोबुबा अहिले हाम्रो सामुन्ने हुनुहुन्न भन्दा कताकता विश्वासै लाग्दैन । सानो बुबा र नोना आमासँग मेरो पहिलो भेट २०३४÷३५ सालताका भारतको फारविसगन्जमा भएको थियो । त्यसबेला म ८÷९ वर्षको मात्र थिएँ । त्यस समयदेखि म कोइराला परिवारसँग निकट रहन पुगेको हुँ । केही वर्ष सानोबुबाको सान्निध्यमा रहेर काम गर्ने मौका समेत मिलेको हुँदा उहाँलाई थप नजिकबाट बुझ्ने र सङ्गत गर्ने अवसर पाएँ । उहाँसँग उठबस गर्दाका केही घतलाग्दा पक्षलाई मैले यहाँ प्रस्तुत गर्न खोजेको छु ।
सरल र सहज नेता ः उहाँ सरल मिजासको तथा महात्मा गान्धी र बीपी कोइरालाको मार्गदर्शनबाट धेरै प्रभावित हुनुहुन्थ्यो । नेता, कार्यकर्ता, शुभेच्छुक वा जो कोहीले पनि सामाजिक, धार्मिक, वैवाहिक सम्बन्धी कार्यक्रममा निमन्त्रणा गरेको खण्डमा उहाँ त्यसलाई स्वीकार गर्नुहुन्थ्यो । विद्यार्थीकालमा कम्युनिष्ट विचारबाट प्रभावित भए पनि बीपीले सम्झाएपछि उहाँ प्रजातान्त्रिक फ्रन्ट मा लाग्नुभएको थियो । त्यसपछि बीपीसँगै नेपाली काँग्रेसको संगठन विस्तारमा लाग्नुभएको थियो । उहाँ सरल सहज नेता भएकाले भेटघाट गर्ने मानिसको घुँइचो लाग्ने गर्दथ्यो । कालान्तरमा कार्यकर्ताको घुईचो सत्तामा हुँदा बढी र बाहिर हुँदा केही कम जस्तो देखिन्थ्यो ।
तीक्ष्ण स्मरण शक्ति ः उहाँको स्मरण क्षमता तीक्ष्ण थियो । एकपटक भेटेको मानिस वा पुगेको ठाउँको बारेमा उहाँ पटक पटक चर्चा गरिरहनुहुन्थ्यो । कसैले म यो ठाउँबाट आएको हुँ भनेमा तपाईको कहाँनेर पर्छ ? त्यहाँ के के विकास भयो ? पहिले यस्तो यस्तो थियो भन्न सक्नुहुन्थ्यो । पार्टीका केन्द्रीय, क्षेत्रीय, जिल्ला र गाउँस्तरीय कार्यकर्ताको सानोबुबासँग सोझै भेटघाट र कुराकानी हुने गर्दथ्यो । बाल्यकालमा घटेका सानातिना घटनाहरु, बीपी कोइरालासँग गरेका कुराकानी, राजा महेन्द्र, वीरेन्द्र एवं राजा ज्ञानेन्द्रका प्रसङ्गहरु सबै सुनाउनु हुन्थ्यो । २०१७ साल अघि र पछिका काँग्रेस पार्टीसँग सम्बन्धित अन्य प्रसङ्गहरु, वि.सं. २००३ सालको मजदुर आन्दोलन, विमान अपहरण काण्ड २०३० ओखलढुंगा काण्ड २०३१ आदिका कुराहरु वृद्धावस्थासम्म बेलाबखत सुनाई नै रहनुहुन्थ्यो ।
स्पष्ट समय तालिका ः उहाँको जीवन स्पष्ट समय तालिकामा रहेको थियो । सानो बुबा बिहान सबेरै ३ः३० देखि ४ः०० बजेभित्र उठिसक्नुहुन्थ्यो । यो क्रम जीवनको उत्तराद्र्धकालसम्म कायमै रह्यो । बिरामी अवस्थामा भने अलिक फरक पर्दथ्यो । उहाँको दैनिकी प्रायः एकै प्रकारको हुने गर्दथ्यो । बिहान उठेपछि हातमुख धुने, एकदेखि दुई गिलासम्म चिया पिउने बानी थियो । पहिले पहिले दुध हालेको चिया पिउनु हुन्थ्यो । पछि कागती हालेको एक गिलास फिक्का चिया पिउनु हुन्थ्यो । यो चिया सेसनमा पहिला धेरै वर्षसम्म परिवारका महत्वपूर्ण सदस्य र केही नजिकका व्यक्तिहरु सामेल हुन्थे । यस्तो बैठकमा समसामायिक राजनीतिक चर्चा हुने गर्दथे । आठ÷दश वर्षदेखि यसरी भेला हुने क्रम टुटे पनि सानो बुबाले आप्mनो रुटिन छोड्नु भएको थिएन । विदेश भ्रमणमा जाँदा होस् वा स्वदेशमै भ्रमण गर्दा होस् उहाँको यो दैनिकी काम रह्यो । पछिल्लो समयमा उहाँको शारीरिक अवस्था कमजोर भएपछि फिक्का चिया पिउँदै आउनु भएको थियो । चिया पिएपछि हरेक दिन आफै दाह्री काट्नु हुन्थ्यो । उहाँको बाल्टिन र मगले नुहाउने बानी थियो । सेतो मन पर्ने रङ्ग भएकाले तौलिया, गंजी, अण्डिरवियर सेतै प्रयोग गर्नुहुन्थ्यो । बिहान ६ बजे भित्रमा उहाँ कपडा लगाएर तयारी अवस्थामा बस्नुहुन्थ्यो । क्रमशः









