
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । काठमाडौंबाट पक्राउ परेका रिजाललाई सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो । उनलाई शरणार्थी प्रकरणमा भएको ठगीमा संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भ्रष्टाचारविरुद्ध कडा कानुन बनाउन माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महरले मुलुकमा भ्रष्टाचारका डर लाग्दा घटना बाहिरिइरहेको भन्दै कडा भन्दा कडा कानुन निर्माण गर्न‘पर्ने बताए । कम्युनिस्ट नेता भल्लादमिर लेलिनले संसद खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो हो भन्ने उक्ति सत्य होइन भनेर प्रमाणित गर्न भ्रष्टाचारविरुद्धको आवश्यक कठोर कानुन चालु संसदबाट निर्माण गर्ने हिम्मत सांसदहरूले राख्नु पर्छ । सांसद ज्युहरूलाई चुनौतीपूर्ण अनुरोध, उनले फेसबुकमा लेखेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै नेपाली नागरिकबाट करोडौं रकम असुली गरेको प्रकरण चलिरहेको समयमा महरको उक्त अभिव्यक्ति आएको हो । त्यसैगरी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी बजेटमा चालु खर्च कटौति गर्नुको विकल्प नभएको बताएका छन् । काठमाडौंमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले एमाले सरकारमा भएको बेला वितरणमुखी बजेट ल्याएको स्वीकार गर्दै अहिलेको अवस्था धेरै उत्साहित भएर बजेट बाँड्न सक्ने स्थिति नभएको उल्लेख गरे । उनले अहिले राजनीतिक पार्टीहरुले एक अर्कालाई आरोपप्रत्यारोप लगाउँदा लगाउँदै अर्थतन्त्रको सिङ्गो जहाज खतरामा पर्ने अवस्था देखिएको पनि उल्लेख गरे । अर्थमन्त्रीले सरकारसँग वित्त नीतिमा ठाउँ छैन सबै राष्ट्र बैंकले मौद्रिक नीतिमा गर्न‘पर्छ भन्नु अनुचित र व्यवहारिक नभएको उनको तर्क थियो । उनले मुलुकको समग्र अर्थतन्त्रको जिम्मेवारी राष्ट्र बैंकको नभएर सरकार र अर्थमन्त्रीको भएको टिप्पणी गरे ।









