
– अर्जुननरसिंह के.सी. –
सो सत्याग्रह पार्टीको शुद्धीकरण र लोकतन्त्रका लागि कार्यकर्तामा आधारित शक्ति सुदृढीकरण एउटा देशव्यापी अभियान थियो । त्यसका लागि मद्यपान, धूमपान त्याग, ब्रम्हचर्य पालन, गृहत्याग र गिरफ्तारी दिनुपर्ने पार्टीको निर्देशन थियो । यस निर्देशिकालाई पार्टीका सबै कार्यकर्ताहरुले पालन गरे । व्यावहारिक तथा स्वास्थ्यको कारणले गिरफ्तारी दिन अनुपयुक्त कतिपय निष्ठावान कार्यकर्ताहरुलाई नेताहरुले नै गिरफ्तारी दिनबाट रोक्नुभयो । देशभरिमा आठहजार कार्यकर्ताले पञ्चायतका विरुद्ध गिरफ्तारी दिए । त्यसो त २०४३ सालको स्थानीय निकायको चुनावलाई पनि पञ्चायतका आउटपोष्ट प्रजातन्त्रका लागि कब्जा गर्ने रणनीति अन्तर्गत भएको थियो ।
सत्याग्रहलाई सफलताका साथ सुसम्पन्न गर्न काँग्रेस नेता मंगलादेवी सिंहको अध्यक्षतामा ३१ सदस्यीय सत्याग्रह सहयोग कमिटीका साथै नेवि संघका तत्कालीन सभापति बलबहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय एक्सन कमिटीको गठन गरियो । सत्याग्रहको महत्वपूर्ण लक्षको रुपमा निम्न सातवटा माग थिए –
१. पार्टीहरुमा लगाईएको प्रतिबन्ध र पञ्चायतमा झुन्ड्याईएको निर्दलीय हटाउन,
२. निरंकुशता र भेदभावका सबै हत्कण्डा हटाएर पूर्ण प्रेस स्वतन्त्रता कायम गराउन,
३. संगठन स्वतन्त्रता निर्वाध कायम गर्न,
४. सम्पूर्ण राजबन्दीहरुको अबिलम्ब रिहाई गर्न,
५. शिक्षकका ४ सूत्रीय मागहरु पूरा हुनुपर्ने र विद्यालय शुल्क घटाउनु पर्ने,
६. जनताको हस्ताक्षरसहित राजासमक्ष प्रस्तुत गरिएका स्थानीय समस्याको समाधान र आवश्यकता पूरा गर्दै जनभावना र जनचाहनाको कदर गराउन,
७. बढ्दो भ्रष्टाचार, कालोबजार र तस्करी उन्मूलन गरेर जनतामा फैलिदो गरिबी, बेरोजगारी, महँगी र कृत्रिम अभाव समाप्त गर्ने, वन मासेर विदेश निकासी गर्ने कार्यको अन्त्य गरी वन तथा जलाधार क्षेत्रको संरक्षण गराउन ।
काँग्रेसले सत्याग्रह प्रारम्भको मिति घोषणा गरेपछि कार्यकर्ताहरुमा सरकारी धरपकड र नेताहरुमाथि चिसो बढ्न थाल्यो । काठमाडौ उपत्यकामा जेठ ९ गतेदेखि र उपत्यकाबाहिर त्योभन्दा पहिलेदेखि नै गिरफ्तारी सुरु भयो । जेठ १० गते महामन्त्री गिरिजाप्रसाद कोइराला, जेठ ११ गते काँग्रेस कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई र जेठ १२ गते सर्वमान्य नेता गणेशमान सिंहलाई गिरफ्तार ग¥यो ।
प्रजातन्त्रप्रति आस्थावान, पञ्चायतविरोधी एवं बहुदलवादी सबै पार्टी र पक्षसँग काँग्रेसले कार्यगत एकताको आह्वान गरेको थियो । सो अनुसार पाँचवटा कम्युनिष्ट समूहले २०४२ जेठ १४ गते एक संयुक्त घोषणाद्वारा कार्यगत एकताको रुपमा सत्याग्रहलाई थप प्रभावकारी बन्न योगदान पु¥याए । सहकार्यमा आएका कम्युनिष्ट घटकहरु – मनमोहन अधिकारी तथा सहाना प्रधानको माक्सवादी कम्युनिष्ट पार्टी, कृष्णराज वर्माको नेकपा संयुक्त, तुलसीलाल अमात्यको कम्युनिष्ट घटक, नारायणमान बिजुक्छेँ (रोहित) को नेमकिपा र निर्मल लामाको समूह थियो । यिनीहरुले राखेका मागहरु काँग्रेसकै मागसँग मिल्दाजुल्दा थिए – पार्टी प्रतिबन्ध हटाएर बहुदलीय व्यवस्था स्थापना गर्नुपर्ने, जनताका मौलिक अधिकार, प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, देशभित्र घुमफिर गर्न पाउने स्वतन्त्रता, जनवर्गीय संगठनको अधिकार तथा स्वतन्त्रता, राजबन्दीहरुको विनाभेदभाव र विनाशर्त रिहाई, मजदुर वर्गको ज्याला बृद्धि तथा कामको ग्यारेन्टी र मजदुर ऐन लागू, विद्युत महसुल घटाउनुपर्ने तथा मूल्यबृद्धि नियन्त्रण, सुकुम्बासीहरुको सुव्यवस्थापन तथा बसोबास निश्चित गर्नुपर्ने, विद्यालयको अनुदान बृद्धि, शिक्षण शुल्क घटाउनुपर्ने र शिक्षकका माग पूरा गर्नुपर्ने मुख्य थिए । काँग्रेसको सत्याग्रहसँग कम्युनिष्ट घटकहरुको यो सहकार्यले २०४६ सालको जनआन्दोलनमा काँग्रेससँग कम्युनिष्ट पार्टीहरु बाममोर्चाको रुपमा सामेल हुन ढोका खुलेको अर्थमा लिन सकिन्छ ।









