
– डा. तुलसी भट्टराई ÷ उद्धव उपाध्याय ÷ महेन्द्रप्रकाश सिवाकोटी –
रोम नेपाल पुलिसको माथिल्लो तहका एक अफिसर थिए । उनी २००७ को जनक्रान्तिमा जनमुक्तिका सेनाका एक योद्धा थिए । रोमले गिरिजाबाबुलाई भेटेर, सुवर्णजीको प्रस्ताव सुनाएछन् । कसरी सम्भव हुन्छ ? गिरिजाबाबुलाई सोध्नु भएछ । पुलिसको वर्दी लगाएर यहाँबाट निस्कने र नर्कटियागञ्जबाट भारत भूमिमा प्रवेश गर्ने रोमले उहाँसित भनेछन् ।
तर सुवर्णजीबाट आफूलाई यस बारेको सिग्नल नआएको र मूलतः उहाँ यसरी भाग्दा त्यहाँ रहेका अन्य राजबन्दीले बेहद कडाई बेहोर्नु पर्ने यथार्थलाई दृष्टिगत गरेर गिरिजाबाबु भाग्न तयार हुनु भएन । त्यसैकारण नेपाली काँग्रेसको २०१८ को सशस्त्र क्रान्तिमा गिरिजाबाबुको संलग्नता हुन पाएन । यो क्रान्ति बाहेक त्यस पहिलेका अर्थात् २००३ देखि २०६३ सम्मका प्रजातान्त्रिक अधिकारका निमित्त भएका नेपालका सबै सशस्त्र क्रान्ति, संघर्ष र आन्दोलनमा गिरिजाबाबुको अत्यन्त महत्वपूर्ण भूमिका रह्यो ।
२०२८ देखि गिरिजाबाबुले पनि निर्वासित भएर रहनु प¥यो । त्यस बेला नेपाली काँग्रेसको कार्यप्रणाली दुई बेग्लाबेग्लै घरबाट प्रवाहित हुन थालिसकेको थियो । बीपी, गणेशमानजी र गिरिजाबाबुको धार सशस्त्र क्रान्तिको धार थियो । २०२९ को असारमा बीपीले बनारसमा युवाहरुको सम्मेलन बोलाउनु भयो । त्यसको निमित्त गोप्य रुपमा काठमाडौलाई पठाएको चिठी धरानका केदारनाथ श्रेष्ठले लिएर आएका थिए । काठमाडौबाट जानेमा गोपालमान श्रेष्ठ, मछेन्द्र पाठक, दामोदर गौतम र म थियौ । देशका सबै भागबाट आएका दुई यस जति युवाको सहभागितामा त्यो सम्मेलन भएको थियो । केही गोप्य रुपमा बनारस नगरको बाहिरी भागमा पर्ने बबुरी गाउँको एउटा स्कुल भवनमा बीपीले त्यसको उद्घाटन गर्नु भएको थियो । गणेशमानजी, गिरिजाबाबु, सरोज बाबु र शैलजा आचार्यले त्यो सम्मेलनमा बोल्नु भएको थियो । सहभागीहरुलाई पनि आ–आफ्नो धारणा राख्ने समय दिइएको थियो । त्यसको व्यवस्थापनमा नोना कोइराला, सुशील कोइराला, भीमबहादुर तामाङ, प्रकाश कोइराला हुनुहुन्थ्यो । बोधप्रसाद उपाध्याय र रामहरि जोशी आदि अघिल्लो पुस्ताका केही नेताबाहेक त्यो सम्मेलनमा अरु सबै युवा थिए । ती धेरैसित बीपी र गिरिजाबाबुले एक्ला एक्लै भेटेर कुरा गर्नु भएको थियो । कतिपय विषयमा छलफल गर्नुभएको थियो ।
२०१७ साल पुस १ गते तरुण दलको सम्मेलन स्थलबाट नेपालको पहिलो जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायत त्यहाँ रहेका सबै नेतालाई पक्राउ गरिएको थियो । त्यही राष्ट्रघाती कार्यको विरोधमा त्यो सम्मेलनले देशभरि विरोधको आवाज मुखरित गर्नुपर्छ भन्ने सबै सहभागीको धारणा थियो । प्रारम्भमा, नेपाल तरुण दलको विधिवत गठन गरेर, देशभरि यसको सशक्त संगठन विस्तार गर्ने धारणा आउका थिए तर तत्काल ती कार्यहरु भएनन् । त्यो सम्मेलनमा धेरै तरुणको सशस्त्र क्रान्तिबाट राजाको निरंकुश शासन तन्त्रलाई समाप्त पार्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका थिए । वस्तुतः त्यो सम्मेलन नेपाली काँग्रेस प्रारम्भ गरेको २०३०÷३१ को सशस्त्र क्रान्तिको पहिलो चरण थियो । त्यो क्रान्तिलाई त्यही सम्मेलनले ऊर्जा दिएको थियो । निर्वासन कालमा नेपाली काँग्रेसको अर्को दोस्रो सम्मेलन पटनामा भएको थियो, २०३४ को जेठमा । त्यसबेला सुवर्ण शम्शेर नेपाली काँग्रेसको कार्यबाहक सभापति हुनुहुन्थ्यो । त्यसभन्दा केही पहिले कलकत्तामा नेपाली काँग्रेसको कार्यसमितिको बैठक बस्यो । त्यो बैठकले बीपी र गणेशमानजीलाई, उहाँहरुले पार्टीसित कुनै सरोकार नराखी, राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गरेर स्वदेश फर्केको भन्ने अभियोगमा उहाँहरु दुवै जनालाई पार्टीबाट निष्कासित गरिएको थियो । त्यसबेला बीपी स्वास्योपचारको निमित्त अमेरिकामा हुनुहुन्थ्यो ।









