
काठमाडौं । रास्वपा सभापति लामिछानेले पार्टी स्थापना दिवसको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ लगायत स्वतन्त्रबाट चुनाव जितेका मेयरलाई रास्वपाको ढोका खुला रहेको बताएका हुन् । स्वतन्त्र उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले २०८४ को चुनावमा समेट्न सक्ला कि नसक्ला भनेर पत्रकारहरुले राखेको जिज्ञासामा लामिछानेले भने, ‘यो त एकदमै राम्रो हुन्थ्यो । त्यस्ता साथीहरुलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो । त्यो त हाम्रो चाहना छँदै छ । त्यो चाहना अनुरुप अन्य साथीहरुले पनि त्यसै गरी सोचिदिनुभयो भने त हाम्रो तर्फबाट त एक सय प्रतिशत सकारात्मक छँदै छौं नि । सम्बन्धको हिसाबले पनि हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ । उहाँहरुको कामको हिसावले त मैले निरन्तर रुपमा कामको प्रशंसा गरेकै छु । उहाँको राम्रो काममा सघाएकै छु ।’ त्यसैगरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो । योसँगै राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक कार्यान्वयनमा अघि बढ्ने भएको छ । राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक संविधानको भावना र मर्म विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दर्ता गरेका थिए । त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्रीसहित पाँच जना सवार सुपप्र ००१ झ ४८० नम्बरको गाडी दुर्घटनाको सत्यतथ्य पत्ता लागाउन छानबिन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव गङ्गाबहादुर खरेलको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो । समिति सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक, वैद्यनाथ बाहिनी अत्तरियाका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर र आन्तरिक मामिला मन्त्रालयको कानुन शाखाका अधिकृत विष्णुदत अवस्थी छन् । समितिलाई आफ्नो कार्यादेश आफैँ तयार गरी १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ । गाडी दुर्घटनाको कारण खुल्न सकेको छैन । यही असार ५ गते आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित पाँच जना सवार गाडी बझाङको केदारस्यु गाउँपालिका–१ को देउरा सडकखण्डमा दुर्घटना भएको थियो । दुर्घटनामा परी मन्त्री सिंहसहित उनकी धर्मपत्नी अमृता सिंह र भाउजु जयदेवी सिंहको निधन भएको थियो ।









