
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाइने बताएका छन् । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको ‘आजका सन्दर्भमा बिपीका विचार’ विषयक विचार गोष्ठीमा उनले बिपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि बढ्ने बताएका हुन् । महामन्त्री शर्माले नेपालको कम्युनिष्ट आन्दोलनले बिपीलाई समयमा चिन्न नसकेको गुनासो गरे । उनले तीन सय २९ स्थानीय तहको नेतृत्व गरेको कांग्रेसले चार प्रदेश सरकारको समेत नेतृत्व गरेकाले अब राम्रो काम गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने वातावरण निर्माणमा लाग्नुपर्ने बताए । त्यसैगरी नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिज्ञको संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् । काठमाडौंमा आयोजित साक्षात्कारमा गौतमले सुन तस्करीमा सिधै राजनीतिक संलग्नता जोडिने भन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य रूपमा दोषी हुने समेत बताए । आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको दाबी गर्दै उनले सो समयमा आफूलाई सरकारबाट कसरी हटाउने भन्ने बारे आवाज उठाइएको जिकिर गरे । गौतमले आफू गृहमन्त्री भएका बेला शान्ति सुरक्षा थप बलियो भएको र आफूले गरेका कामलाई सबैले प्रशंसा गरेको दावी गरे । सुन तस्करीको सवालमा अहिले यो सुन कुन देशबाट आयो भन्ने पनि महत्वपूणर् विषय भएको र तस्करहरूले कस्तो जालो फैलाएका रहेछन् भन्ने स्पष्ट भएको उनले बताए । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गरेका छन् । अध्यक्ष नेपालले काँग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरे । काठमाडौंमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले एमालेप्रति लक्षित गर्दै कम्युनिष्ट भनिएकाहरुले पनि प्रतिगामीहरुसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरुले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने समेत बताए । अध्यक्ष नेपालले व्यक्तिवाद हावी भएकै कारण तत्कालीन नेकपा समेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताए । उनले पूँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले पनि जनताको हितका लागि समाजवादको विकल्प नभएको जिकीर गरे ।









