
काठमाडौं । अबिरल वर्षाका कारण बिहान पहिरो जाँदा म्याग्दी, रुकूम (पूर्व) र रोल्पाका विभिन्न ठाउँमा सडक अवरोध भएको छ । पहिरो गएर म्याग्दी रघुगंगा गाउँपालिका-३ बैसरीस्थित बेनी जोमसोम सडक खण्ड, रुकुम (पूर्व) भुमे गाउँपालिका-४ काँडा बगरस्थित मध्य पहाडी लोक मार्ग तथा रोल्पा थवाङ गाउँपालिका-२ फुली, गलचोक र सोही गाउँपालिका-१ दहवाङमा सडक अवरोध भएको हो । पहिरो गएका स्थानहरुमा तत्कल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग सम्वन्य गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । त्यसैगरी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय बिनोद वलीलाई बिहान प्रहरीले पक्राउ गरेको छ । वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगि दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।









