
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरूले उठेर विरोध गर्नु दादागिरी भएको बताए । बर्तौलाले सत्तापक्षको दादागिरी देख्दा सरकार संसद् चलाउन नचाहने स्पष्ट भएको बताएका छन् । बर्तौलाले प्रतिपक्षले बोल्न पाउने अधिकार सत्तापक्षले कुण्ठित गरेको बताएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले महँगी नियन्त्रणमा आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार चुकिरहेको बताएका छन् । दस वर्षपछि फेरि पार्टी प्रवक्ताको जिम्मेवारीमा आएका नेता सापकोटाले सञ्चारकर्मीसँग कुरा गर्दै महँगी नियन्त्रण गर्न आफू जोडले पार्टीभित्र कुरो उठाउने बताएका छन् । महँगीको मारमा जनताहरू परेको बताउँदै उनले अब बस्ने पार्टीको पदाधिकारी बैठकमा यो कुरा सशक्तरूपमा उठाउने बताएका हुन् । उनका अनुसार हालै सम्पन्न केन्द्रीय समितको बैठकमा पार्टीको ठोस कुरो भनेको सरकार र पार्टी नेतृत्व एक्सन ओरेन्टेड हुनुपर्ने बताएका छन् । त्यसैगरी सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सब- इन्जिनियर उपेन्द्र कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता भोला दाहालले ३७ लाख ९३ हजार ३९२ रुपियाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए । प्रवक्ता दाहालले सिम्रौनगढ नगरपालिका-३ मा सामुदायिक भवन निर्माण कार्य र वडा नम्बर ३ नयकाटोलमा बर्थिङ्ग सेन्टर निर्माण कार्यमा सम्झौता विपरीत निर्माणस्थलमा भएको परिमाणको झुट्ठा बिल भरपाई बनाई भ्रष्टाचार गरेको पाइएको अनुसन्धानबाट खुलेको जानकारी दिए । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत चौधरी, इन्जिनियर यादव र सब- इन्जिनियर कुशवाहलाई ३७ लाख ९३ हजार ३९२ रुपियाँ बिगो कायम गरी कैद र जरिवाना माग गरिएको छ । यसैगरी, सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्रप्रसाद यादव, सचिव विजयकुमार यादव र कोषाध्यक्ष कविता देवी तथा बर्थिङ सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।









