
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन् । पार्टीको टोखा नगरपालिकाको भेलामा उनले जातजाति र समुदायसित होइन, बेथिति र भ्रष्टचारविरुद्ध लड्नुपर्ने बताएका छन् । कानुनले बर्जित गरेको गतिविधि नगर्न सुझाव दिँदै अध्यक्ष लामिछानेले फरक-फरक समुदायको आस्थामा आँच आउने काम गर्न नहुनेमा जोड दिएका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताका लागि केपी ओली बाधक रहेको आरोप लगाएका छन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकताका लागि पहल गरे पनि केपी ओली बाधक बनेको आरोप लगाए । उनले तत्कालीन नेकपा विघटन भएपछि पनि आफूले नेकपालाई पुनः व्युताउने प्रयास गरे पनि सफल हुन नसकेको बताए । त्यस्तै अध्यक्ष नेपालले केपी ओलीकै कारण आफूहरूलाई सुन तस्करी प्रकरणमा छलफल गर्न सर्वदलीय छलफलमा निषेध गरेको जिकिर गरेका छन् । राष्ट्रिय मान्यता प्राप्त नगरेको भन्दै पार्टीलाई हेप्ने काम भएको भन्दै अध्यक्ष नेपालले अब पार्टीले केही कदम चाल्ने संकेत गरेका छन् । उनले पार्टीलाई बलियो बनाउन र देशभर संगठन विस्तार गर्न विद्यार्थी संगठनलाई निर्देशन दिएका छन् । त्यसैगरी प्लाष्टिकका दाना भनेर नेपाल भित्र्याउन लागिएको कपडा, काजु, किसमिसलगायत सामान रहेका दुईवटा ट्रक भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ । भारतबाट प्लाष्टिकका दाना ल्याएको भनेर भन्सार कार्यालय प्रवेश गराइएको दुईवटा ट्रक चेक जाँच गर्दा कपडा, काजु, किसमिसलगायतका सामान भेटिएको भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडलले बताए । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनिए पनि चेकजाँच गर्दा दुईवटै ट्रकमा ठूलो परिमाणमा कपडा, काजु, किसमिस लगायतका खाद्य सामग्री फेला परेको हो ।









