
– अर्जुननरसिंह के.सी. –
यसपछि नै माओवादीसँग सात दलको वार्ता र समझदारीले ठोस आकार र गन्तव्य लिन थालेको हो । १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले दोस्रोपटक निरंकुश एवं प्रत्यक्ष शासन सुरु गरेपछि त्यसको प्रतिरोधमा आन्दोलन अघि बढाउन नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली काँग्रेस (प्रजातान्त्रिक), जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) र संयुक्त बाममोर्चासहित २५ वैशाख २०६२ मा सर्वप्रथम सातदलीय गठबन्धन निर्माण भयो ।
२०६२ साल चैत २४ गतेदेखि २०६३ साल वैशाख ११ गतेसम्म १९ दिनको जनआन्दोलनलाई व्यापक जनसहभागिताले निणर्ायक बनायो । कसैलाई पत्यार नलागेको प्रतिनिधिसभा पुनःस्थापना भयो । पुनःस्थापित प्रतिनिधिसभाले एउटा घोषणा जारी गरी भावी संविधानसभा र संविधानको रुपरेखा देखायो । २०६३ माघ १ गते नेपालको अन्तरिम संविधान जारी भयो । सात राजनीतिक दलको सहमतिअनुसार २८ चैत २०६४ मा संविधानसभाको चुनावको तिथि तेस्रोपटक निर्धारण गरियो । सात पार्टीले ८ पुस २०६४ मा गरेको २३ बुँदे सहमतिपछि चैत महिनाभित्र संविधानसभाको चुनाव गर्ने निणर्य गरेअनुरुप ६०१ सदस्य भएको संविधानसभाको पहिलो निर्वाचन २०६४ चैत्र २८ मा सम्पन्न भयो, जुन संविधानसभामा ३३५ सदस्य समानुपातिक प्रणालीबाट र २४० सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित र बाँकी २६ सदस्य मन्त्रिपरिषदले मनोनीत गरेको थियो । संविधानसभाको पहिलो बैठकले गणतन्त्र नेपालको घोषणा गर्यो ।
कम्युनिष्टसँग संयुक्त आन्दोलन
काँग्रेसले नेतृत्व गरेको तीनवटामध्ये पछिल्ला दुई विशाल जनआन्दोलन कम्युनिष्टहरुको पनि सहभागितामा सम्पन्न भए । यो कसरी सम्भव भयो ?
ऐतिहासिक रोचकतालाई पनि ध्यान दिनुपर्छ । २०१७ सालमा कम्युनिष्ट नेता पुष्पलालले काँग्रेस र कम्युनिष्ट मिलेर संयुक्त संघर्ष गरी जननिर्वाचित प्रतिनिधिसभा पुनस्थापित गरौ भनी प्रस्ताव राख्दा उहाँलाई गद्दार, काँग्रेसको पुच्छर जस्ता शब्दावलीले गालीगलौज गर्ने कम्युनिष्टहरु शीर्षस्थ नेता गणेशमान सिंहले २०४६ सालमा त्यस्तै प्रस्तावको अह्वान गर्दा जनआन्दोलनमा सामेल भए । युगको माग, विश्वका कम्युनिष्ट शासनहरुको एकपछि अर्को पतन, लोकतन्त्रको लहर, कम्युनिष्ट शिविरभित्र विकसित लोकतन्त्रप्रतिको आस्था र निष्ठा आदि धेरै कारणले कम्युनिष्टहरु ऐतिहासिक निणर्यको महत्वपूणर् घुम्तीमा पुग्दैछन् । यस्तो पार्टीसँग मिलेर लोकतन्त्रका लागि काम गर्नु कम्युनिष्टहरुको छनौटलाई काँग्रेसले सकारात्मक तथा मैत्रीवत रुपमा लिएको छ, लिनुपर्छ ।
नेपाली काँग्रेस जनताको मतले तीनपटक निणर्ायक बहुमत र एकपटक दुईतिहाई बहुमत हासिल गरेको पार्टी हो, जुन अवसर हाल विघटित नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ले २०७४ मा पायो । तर यो बहुमत तीनवर्ष पनि नटिकेपछि नेकपा नै विभाजित भएर एमाले र माओवादीका रुपमा पुनःस्थापित भए ।
जनआन्दोलनका सहिद तथा जनधनको क्षति ः
बनेपाका मुकेश कायस्थलाई छतमा शान्तसँग उभिईरहेको बेला १४ वर्षको उमेरमा २०६२ चैत २७ गते कन्चटमा गोली लागेर घाइते भई हालसम्म बेहोस र हलचल गर्न नसक्ने अवस्थामा हुनुहुन्छ । उहाँलाई सरकारले जनआन्दोलन २०६२/६३ का जिउँदा सहिद मान्यता दिएको छ ।
काठमाडौमा बासुदेव घिमिरे, सगुन ताम्रकार, दिपक बि.क. अनिलकुमार लामा, प्रद्युम्न खड्का, महम्मद जहाँगीर, चन्द्रबहादुर बयलकोटी, झापामा सुरज विश्वास तथा राजन गिरि, सप्तरीमा दर्शनलाल यादव, निजगढमा हिरालाल गौतम, चितवनमा तुलसी क्षेत्री, बनेपामा शिवहरि कुँवर, पोखरामा भीमसेन दाहाल, नवलपरासीमा विष्णु पाण्डेय, पर्वतमा गोविन्दनाथ शर्मा, बाँकेमा सेतु सुनार, बर्दियामा यमलाल लामिछाने … सहिद हुनुभयो । क्रमशः









