
काठमाडौं । कैलाली, गोदावारी गाउँपालिका-१ बनखेत बस्ने ३५ वर्षीय रमेश बहादुर तिरूवालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम र स्रोत नखुलेको ४ लाख ७४ हजार ५ सय भारतीय रूपैयाँसहित दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-१० टिमाई पुल नजिक गोरु हटियाबाट अवैध लागूऔषध गाँजा २ किलो, तराजु १ थान, ढक ५ थान र सानो प्लाष्टिकको जिपर ब्याग २ सय थानसहित सोही ठाउँ बस्ने ३८ वर्षीय नवि मिया चुरौटेसहित ३ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले चुरौटेको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ३० मिलिग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।









