
– डा. चिरञ्जीवी नेपाल –
हामीले मेसिनको प्रयोग नगरीकन केवल हलो र हलो तान्ने चौपायाको नश्लमा सुधार गरेर जमिनको उत्पादकत्वमा सुधार ल्याउनुपर्छ ।
हाम्रो देशमा बहुसंख्यक मानिसहरु सीमित विकासमा गतिविधि भएका विपन्न क्षेत्रमा बस्छन् । यदि उचित विकासको अवधारणा र हामी सबैबाट संयुक्तरुपमा इमान्दार प्रयास भएमा त्यस्ता स्थानीय समुदायको जीवनस्तर उकास्न सकिन्छ ।
स्थानीय स्रोतमा आधारित कृषि तथा गैरकृषिका गतिविधिहरुमा संलग्न गराएर स्थानीय समुदायहरु तथा निराश भएका जनतालाई आफ्नो आधारभूत आवश्यकता पूरा गर्न सक्षम बनाउन सकिन्छ ।
हाम्रा विशेष आवश्यकताहरु र वातावरणलाई सँगै राखेर हाम्रो रैथाने (स्थानीय) स्रोतहरु तथा ज्ञानमा आधारित बिपीको विकास ढाँचालाई साकार गर्न हामीले काम गर्नै पर्छ । हाम्रो देशमा कृषिमा आश्रित जनसंख्या ८१.८ प्रतिशत र गैरकृषिमा आधारित जनसंख्या १८.७ प्रतिशत छ । हाम्रो जनसंख्याको ८० प्रतिशतभन्दा बढी मानिसहरु ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । उनीहरुमध्ये बहुसंख्यकमा अल्पपोषण/कुपोषण, लाभदायक रोजगारी तथा जीवनको आधारभूत स्रोतको कमी छ । उनीहरुको आधारभूत आवश्यकता भनेको खाना, कपडा र रोजगारी हुन् । उनीहरु शिक्षित र दक्ष नभएका कारण ठूला व्यावसायिक कम्पनीहरु र उद्योगहरुले उनीहरुलाई रोजगारी दिन सक्दैनन् । यदि दिए नै भने पनि केही समयपछि उनीहरुलाई नयाँ मेसिनरीले विस्थापित गर्नेछन् । आर्थिक बृद्धिको नाममा यस्ता गरिब जनताले सदाका लागि आफ्नो रोजगारी गुमाउने छन् । बढी उत्पादकत्व भनेकै यसरी थोरै श्रमिकबाट धेरै उत्पादन गर्नु नै हो । यसले हाम्रो देशको अर्थतन्त्र र जनसंख्याको आकारअनुसार पनि कम रोजगारी दिन्छ ।









