
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन कर्मचारीहरूलाई निर्देशन दिए । रिपोर्ट कार्डको प्रस्तुतिपछि बोल्दै प्रधानमन्त्री दाहालले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताए । कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेले प्रस्तुत गरेको ‘आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ शीर्षकको रिपोर्ट कार्डमा गत वर्षको तुलनामा यस आर्थिक वर्षमा आर्थिक परिसूचकहरूमा राम्रो सुधार आएको उल्लेख छ । आ.ब. २०७८/०७९ मा भुक्तानी सन्तुलन २५५.२६ अर्ब ऋणात्मक रहेकोमा आ.ब. २०७९/०८० मा सुधार आई २९०.५२ अर्ब भएको छ । त्यस्तै वैदेशिक विनिमय सञ्चिति १२१५.८ अर्ब रहेकोमा यस आर्थिक वर्षमा १५३९.३६ अर्ब रहेको, रेमिट्यान्स प्राप्ति गत वर्ष १००७.३१ रहेकोमा यस वर्ष १२२०.५६ अर्ब रहेको सरकारको तथ्यांक रहेको छ । त्यसैगरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । ५० जनालाई प्रतिवादी बनाएको सीआईबीले उनीहरुविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार पाँच सय ५२ रुपैयाँबराबरको बिगो दाबी गर्दै मुद्दा चलाउन रायसहितको प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउनुअघि आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले ५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेका जानकारी दिएकी थिइन् । उनका अनुसार पक्राउ परेका ३२ जनामध्ये २३ जना नेपाली र ९ जना विदेशी प्रतिवादी छन् । यसैगरी फरार रहेका १८ जनाप्रतिवादीमध्ये ४ जना नेपाली र १४ जना विदेशी रहेका एआईजी आचार्यले जानकारी दिइन् । उनका अनुसार आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिइएको छ । त्यसैगरी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपीको विचारलाई अवलम्बन गरेर अगाडि बढ्नसके मात्रै पार्टी र सरकार बलियो हुने बताएका छन् । बिपी स्टडी युथ सर्कलले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘बिपी जयन्तीका अवसरमा देशैभरिका युवाको विशेष विचार सम्मेलन’मा उनले आफूमा भएको अहमतालाई त्याग्न नसकेका कारण बिग्रनेक्रम सुरु भएको बताए । नेता कोइरालालले बिपीले भनेको विचारभन्दा ठीक विपरीत व्यक्तिवादी चरित्र, साम्प्रदायिकतामा रम्ने, स्वार्थीपन र इसारामा हिँड्ने व्यवहार बढी भएका कारण त्यसलाई त्याग्नसकेमा मात्रै सबैचिज बलियो हुने तर्क गरे । पार्टीभित्र व्यक्तिवादी सोच बदल्दै सरकारमा पनि अर्थतन्त्रको सोच बदल्न आवश्यक रहेको उनको भनाइ छ । नेता कोइरालाले देशलाई बलियो बनाउन सङ्घीयतालाई पूणर् कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेशलाई शक्तिशाली बनाउन नसकेका कारण कमजोर बन्दै गएको बताए ।









