
– अर्जुननरसिंह के.सी. –
तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा ११ सदस्यीय चुनावी मन्त्रिपरिषद गठन भएको र त्यसलाई सहयोग पुर्याउन उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन भएपछि यो निर्वाचन हुने सुनिश्चित भयो ।
२०७० मंसिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन भयो । निर्वाचन आयोगमा दर्ता भएका १२२ दलहरुमध्ये ३० दलहरुसँगै दुईजना स्वतन्त्र उम्मेदवारहरुले संविधानसभामा प्रतिनिधित्व गर्न पाए । नेपाली काँग्रेसले १९६ सिट पाएर सबभन्दा ठूलो दल भयो । नेकपा एमालेले १७५ सिट र एनेकपा माओवादीले ८० सिटमा विजय प्राप्त गर्यो । अघिल्लो संविधानसभामा पाएको सबैभन्दा ठूलो दलको हैसियत यो निर्वाचनमा भएन, तर समानुपातिक निर्वाचनद्वारा सो पार्टीका २४ प्रतिनिधि संविधानसभामा पुगेर चौथो ठूलो दलको हैसियत बनायो । मधेसकेन्द्रित दलहरु समग्रमा ५० स्थानमा निर्वाचित भए । दोस्रो संविधानसभाको पहिलो बैठक २०७० साल माघ ८ गतेबाट शुरु भयो ।
राजतन्त्रबाट गणतन्त्रमा
नेपाली काँग्रेस संवैधानिक राजतन्त्रलाई मान्ने पार्टीको पहिचानबाट गणतन्त्रमा प्रवेश गर्यो, नयाँ व्यवस्थामा पार्टीको भूमिका के हुनेछ ?
राजतन्त्रले नेपाली काँग्रेससँग कहिल्यै पनि सहयोगात्मक र पूरकको व्यवहार गर्न चाहेन । काँग्रेस स्वयंको खाँचोका कारणले पार्टीले विगतमा राजतन्त्रलाई मानेको होइन । कुनै पनि संस्थाले मुलुकका राष्ट्रिय शक्तिहरुसँग हेलमेल र सहकार्यपूणर् आधारमा आफ्नो औचित्य र सान्दर्भिकता प्रदर्शित गर्न सक्नुपर्दछ । नेपाली काँग्रेसको सन्दर्भमा इतिहासको यो यथार्थलाई मनन गर्नु उचित हुनेछ कि जो जसले नेपाली काँग्रेसलाई शत्रुको व्यवहार गरे ती कालान्तरमा समाप्त भएर गए । महेन्द्रले २०१७ सालमा जनविरोधी कदम चलाएर जनताले नेपाली काँग्रेसलाई दिएको म्याण्डेटलाई कुल्चिने काममात्र गरेका थिएनन्, पार्टी र लोकतन्त्रलाई निमिट्यान्न पार्ने कदम नै चलाए, यद्यपि २००७ सालमा सपरिवार गद्दी छोडेर विदेश पलायन भएका राजालाई काँग्रेसले नै पुनःस्थापित गरेको थियो । आजसम्म नेपाली काँग्रेसमाथिको सबभन्दा घातक प्रहार राजसंस्थाबाटै भयो । यो काँग्रेससँगको सम्बन्धमा उत्पन्न समस्यामात्र थिएन, राजतन्त्रको अस्तित्वमाथि आफैँद्वारा गरिएको खेलवाड थियो । राजाले हुकुमी शासन चलाउने अतिआकांक्षामा लोकतन्त्रलाई नै तहसनहस बनाउने काम गरे । अन्ततोगत्वा राजतन्त्र नै समाप्त भयो ।
इतिहासमा जे भएको होस्, तर वर्तमानमा तथा भविष्यका लागि नेपाली काँग्रेस लोकतान्त्रिक गणतन्त्रवादी पार्टी हो । तर पूर्वराजाहरु, उनीहरुका आफन्त, समर्थक तथा शुभेच्छुकहरुलाई काँग्रेसले पूर्वाग्रह, प्रतिशोध वा घृणाभाव राखेको छैन । उहाँहरुप्रति न्यायोचित सद्भावको रवैया लिएको छ । उहाँहरुका स्वतन्त्र वाणी र अयिभव्यक्तिलाई निषेध गरिँदैन, लोकतन्त्रमा नै अटाएको छ । काँग्रेसको आजको जिम्मेवारी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ बनाउने हो । उहाँहरु नेपाली काँग्रेसमा आएर सक्रिय राजनीतिमा सरिक हुनुहुन्छ भने काँग्रेस सहर्ष स्वागत गर्दछ । तर पार्टीका स्थापित सिद्धान्त, नीति, आदर्श, परम्परा र मान्यतालाई पूणर् रुपले आत्मसात गर्नुपर्छ ।
काँग्रेसमा आन्तरिक लोकतन्त्र
नेपाली काँग्रेस लोकतन्त्रवादी पार्टी त हो, तर यसमा आन्तरिक लोकतन्त्र सुदृढ छैन भन्ने दोष लगाइन्छ । पार्टीमा आन्तरिक लोकतन्त्रको अवस्था के छ ?
तीसवर्ष लामो पार्टी प्रतिबन्धको अवस्थामा नेपाली काँग्रेस या त जेलमा थियो वा निर्वासनमा, त्यो अवस्थामा पार्टीमा आन्तरिक लोकतन्त्र सम्भव थिएन । तर २०४६ सालपछि आन्तरिक लोकतन्त्रको आवाज विस्तारै घनीभूत हुनथाल्यो । पार्टीको २०६६ कार्तिकमा सम्पन्न काँग्रेस महासमितिको बैठकले सामुहिक, संस्थागत र विधिसम्मत ढङ्गबाट आन्तरिक लोकतन्त्रको पूणर् विकास गर्ने जुन निणर्य लियो त्यो नै ऐतिहासिक उपलब्धि थियो । क्रमशः









