
काठमाडौं । बझाङ केन्द्र बिन्दु भएर गएको भूकम्पले भौतिक संरचनामा क्षति पुर्याएको छ । भूकम्पबाट दुर्गाथली गाउँपालिका, तलकोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालय र घर भत्किएका छन् । पहिलो भूकम्प २ बजेर ४० मिनेटमा ५.३ म्याग्च्यिूडको थियो भने दोस्रो झड्का ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्यूडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो शक्तिशाली भूकम्पको महसुस पूरा देशभर भएको थियो । पहिलो भूकम्प बझाङको तालाकोट गाउँपालिका केन्द्रबिन्दु बनाएर गएको थियो भने दोस्रो सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केही व्यक्तिहरू घाइते भएका छन् भने बझाङमा घरहरू भत्किएका छन् । त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले न्यायलयलाई ‘गठबन्धनको विभाग’ बनाएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा बोल्दै उनले खुला प्रतियोगितामा फेल भएका व्यक्तिलाई न्यायधिश बनाएर सरकारले न्यायलयलाई ‘गठबन्धनको विभाग’ बनाएको आरोप लगाएका हुन् । उनले सरकारले न्यायालयमाथि अनुचित हस्तक्षेप र चरम दुरुपयोग गरेको आरोप पनि लगाएका छन् । उनले आफू विरुद्घको मुद्दामा उफ्रि-उफ्रि सक्रिय सहयोगी भूमिका खेल्ने फर्मका वकिललाई पनि न्यायाधिस बनाइएको आरोप लगाएका छन् । त्यसैगरी सांसदहरूले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले सरकारले अर्थतन्त्रमा सुधार आएको दाबी गरेपनि अवस्थामा सुधार भएको नदेखिएकाले अर्थतन्त्रका अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्नेमा जोड दिएका हुन् । बैठकमा सांसद बिष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा खुल्ला बहस गर्नुपर्ने बेला आएको बताएका छन् । अर्थतन्त्रमा देखिएको समस्या र समाधानका उपाय निकाल्ने गरी छलफल चलाउनुपर्ने उनको भनाइ छ । अर्थतन्त्र मन्दीको अवस्थालाई सरकारले स्वीकार गर्नुपर्ने उनले बताए । पौडेलले अर्थतन्त्रको छलफलमा अर्थमन्त्री अनुपस्थित भएको भन्दै आपत्ति जनाए । त्यस्तै सांसद डा. स्वणर्िम वाग्लेले बजेटको कार्यान्वयनको अवस्थामा बारेमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् । अर्थतन्त्रका सूचकलाई सुक्ष्म ढंगले हेरेर यसको अवस्थाको मूल्यांकन गर्नुपर्ने उनले जोड दिए । त्यस्तै सांसद ज्ञानेन्द्र शाहीले भन्सारमा देखिएका समस्या समाधान गर्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा निर्यात बढाएर अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने देखिएको बताए ।









