
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारको लोकप्रियता घटेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले बजारमा मूल्यवृद्धि बढेकाले सरकारको लोकप्रियता घटेको दाबी गरेका हुन् । उनले देश आर्थिक मन्दीले थलिएको बताएका छन् । कालोबजारीलाई गर्ने र कृत्रिम अभाव गर्नेलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । त्यसैगरी सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालय लगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो । सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निणर्यको सक्कल प्रति झिकाउन पनि आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिएका छन् । त्यस्तै मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन आदेश दिएको छ । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा हुने कुनैपनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले स्वास्थ्यकर्मीहरुलाई पूणर् भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रह समेत गरेका छन् । उनले वीर अस्पताललाई अझै बिस्तार र सुविधा सम्पन्न बनाउन नेपाल सरकारले थप लगानी बढाउने प्रतिवद्धता समेत जनाएका छन् । नर्सिङ सेवासँग सम्बन्धित देखापरेका जटिलतालाई समाधान गर्नेतिर सरकारले दृढतापूर्वक अघि बढेको उनको भनाइ छ । उनले संविधानमा व्यवस्था भए बमोजिम मौलिक हकहरुको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानून निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको बताए । उनले संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरुको भुमिका सबैभन्दा महत्वपूणर् हुने बताए ।









