
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस एकढिक्का भएर आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गोरखा सहिदलखन-काठमाडौँ सम्पर्क समितिले विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले कांग्रेस एकढिक्का भएर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् । नेता डा. कोइरालाले अहिले देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै सरकारले समय, परिस्थिति अनुसार जनताका पक्षमा काम गर्न आवश्यक रहेको बताएका छन् । वर्तमान परिस्थितिलाई कांग्रेसबाहेक अरुले सम्हाल्न नसक्ने उनको भनाइ थियो । त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै पार्टीहरूलाई एकै ठाउँमा राखेर हेर्न नहुने बताएका छन् । एमाले सम्पर्क समन्वयन कमिटीले काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले धेरै पार्टीहरूलाई एकै ठाउँमा राखेर हेर्न नहुने र राम्रालाई राम्रो र नराम्रालाई नराम्रो भन्न सक्नुपर्ने बताएका छन् । उनले सबै नेताहरूलाई आरोप र आशंकाको दृष्टिले हेर्दा समाज ठीक ठाँउमा जान नसक्ने बताएका छन् । चाडपर्वलाई भ्रमबाट दूर गर्ने, चेतनाको प्रकाश पुर्याउने माध्यमको रूपमा लिनुपर्ने उनको भनाइ छ । चाडपर्वको समयलाई व्यक्तिगत ज्ञान बढाउनका लागि उपयोग गर्नुपर्ने उनले जोड दिएका छन् । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा कोसी प्रदेश सरकार, समाजवादी मोर्चा र केन्द्र सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाललाई भेटेपछि पत्रकारसँग नेपालले अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको जानकारी दिएका छन् ।









