
काठमाडौं । पोखरा महानगरपालिका जेठोबुढो धान संरक्षण अभियानमा छ । यसकारण नगरपालिकाले किसानलाई जेठोबुढो धान उत्पादनमा प्रेरित गर्दै आइरहेको छ । पोखराको फाँटहरुमा अहिले जेठोबुढो धानको हिस्सा आधा अर्थात ५० प्रतिशतको हाराहारीमा रहेको छ । यो गतवर्षभन्दा १० प्रतिशतले बृद्धि हो । महानगरले यो वर्ष जेठोबुढो धानको समर्थन मूल्यमा समेत बृद्धि गरेको छ । यो वर्ष प्रतिकेजी ५ रुपैयाँले बढाएको महानगरपालिका कृषि विभागले जनाएको छ । पोखरा महानगरपालिकाका कृषि विभाग प्रमुख मनोहरी कडरियाका अनुसार धानको समर्थन मूल्यमा गरिएको बृद्धिले किसानलाई राहत हुने विश्वास महानगरको छ । पोखरामा वार्षिक जेठोबुढो धानको उत्पादन १२ देखि १४ हजार मेट्रिक टन उत्पादन हुने अनुमान छ । कुल क्षेत्रफल मध्ये ५० प्रतिशत क्षेत्रफलमा जेठोबुढो धान लगाइएको छ । प्रतिरोपनी ३ देखि ५ मुरी उत्पादन हुने अनुमान छ । प्रतिमुरी धान ५० केजी हुन्छ । प्रतिमुरीको मूल्य ४ हजार ७ सय ५० सय रुपैयाँ पर्न आउँने उनको भनाई थियो । प्रतिक्विन्टल ९ हजार ५ सय रुपैयाँ पर्छ । जेठो बुढो धान उत्पादनमा प्रतिरोपनी ३५ सय रुपैयाँ खर्च हुने गरेको किसानहरुको भनाई छ । किसानले उत्पादन गरेको धान खलोबाट उठाई सम्बन्धीत ठाँउसम्म ढुवानी गर्ने खर्च समेत जोडेर किसानलाई समर्थन मूल्य तय गरिएको उनले बताए । पोखरा महानगरपालिकामा १२ हजार ३ सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुदैं आएको छ । विशेष गरी जेठोबुढो धान फेवाफाँट, विरुवा फाँट, शिशुवा फाँट, खोला छेउ, कमलपोखरी फाँट, कुँडहर फाँटमा उत्पादन हुदैं आएका छन् । धान उत्पादन गर्ने किसानलाई न्यूनतम मूल्य पाउनुपर्छ भन्ने उद्देश्यले वर्षेनी समर्थन मूल्य तोकिदैं आएको उनले बताए ।









