
काठमाडौं । आगामी फागुन २५ गते एकपछि अर्को फिल्म प्रदर्शनका लागि थुप्रिरहेका छन् । ‘काँडेतार’, ‘रंगेली’ र ‘लोकल हिरो’पछि अभिनेत्री रेखा थापाको कमब्याक फिल्म ‘उपहार’ पनि प्रदर्शनमा आउने भएको छ । एक गीत रिलिज गर्दै महाशिवरात्रीलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको डान्सिङ तथा रोमान्टिक फ्लेवरको ‘वाह् वाह् वाह्’ गीतमा फिल्मका तीन जोडी फिचर्ड छन् । रेखा थापा र मुकुन भुषालले पानीमा नृत्य पस्किएका छन् भने पूजा शर्मा र समर्पण जंग कार्कीको केमेस्ट्री आकर्षक देखिन्छ । त्यसैगरी, बेनिशा हमाल र तेज गिरीको नृत्य पनि रोमाञ्चक छ । पूजा र बेनिशा बोल्ड अवतारमा प्रस्तुत छन् । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको गीतमा शंकर अधिकारी (घायल)को शब्द रचना तथा गायक गिरी स्वयंको संगीत छ ।









