
काठमाडौं । चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाईरु दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो । चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) महासचिव र नेकपा (एकीकृत समाजवादी)का नेता जीवनराम श्रेष्ठलाई संयुक्तरूपमा हस्तान्तरण गरेका हुन । भूकम्पपीडितका घरदैलोमा नै ती सामग्री चिनियाँ दूतावासले पुर्याइदिने जानकारी दिएको डा भट्टराईले बताएका छन् । त्यसैगरी चीनका राष्ट्रपति सी जिनपिङले चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन् । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उनले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताएका हुन् । राष्ट्रपति सीको उक्त टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग उनको बहुप्रतीक्षित वार्ताको केही घन्टापछि आएको हो । करिब एक वर्षपछि पहिलोपटक भएको भेटमा उनीहरुले दुई मुलुकबीचको तनावलाई कम गर्ने वाचा गरेका छन् । उच्चस्तरीय सैन्य हटलाइनलाई पुनः सक्रियताका साथ सुरु गरी दुवै पक्षले लक्जरी फिलोली एस्टेटमा वार्तापछि धेरै सम्झौताको घोषणा गरेका छन् । सो अवसरमा उपस्थित हुने अतिथिहरूमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक, ब्ल्याकरकका लरेन्स फिङ्क र पिफाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्ला थिए । चीनको कडा व्यापारिक निगरानी र द्विपक्षीय तनावको चिन्तालाई ध्यानमा राख्दै अमेरिका-चीन व्यापार परिषद् र अमेरिका-चीन सम्बन्धको राष्ट्रिय समितिले आयोजना गरेको कार्यक्रममा सीको टिप्पणीलाई ध्यानपूर्वक हेरिएको थियो । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका विभिन्न धर्म समुदायका मौलिक संस्कृति तथा चाडपर्वले समाजिक सद्भाव, सहिष्णुता अभिवृद्धि गरी सामाजिक एकता कायम गर्ने बताएका छन् । हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व भाइटीकाका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविधताले भरिपूणर् नेपाली समाजका फरक धार्मिक रीतिरिवाज, वेशभूषा, कला, साहित्य तथा संस्कृतिले समग्र राष्ट्रको गौरव बोकेको बताएका हुन् । सबै जाति समुदायका चाडपर्वले नेपालीलाई एकताबद्ध गरी सांस्कृतिकरूपमा एकापसमा जोड्ने काम गरेको उल्लेख गर्दै उनले समाजिक भ्रातृत्व, सहअस्तित्व, पारस्परिक सहयोगले नै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूणर् नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पूर्वप्रधानमन्त्री नेपालले सबै समुदायका भाषा साहित्य कला संस्कृति तथा मौलिक परम्परा चाडबाडको संरक्षण गर्नुपर्नेमा जोड दिए । राजनीतिक उपलब्धिलाई रक्षा गर्न परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो औँल्याउँदै उनले सन्देशमा सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा जनतालाई आर्थिक तथा सामाजिक रुपान्तरण गराउन आवश्यक रहेको उल्लेख गरेका छन् । जनताको चाहनाअनुसार उनीहरूको व्यापक सहभागितामा गठित संविधानसभाबाट निर्मित संविधानअनुसार तीन तहको निर्वाचन दोस्रोपटक सम्पन्न गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेकाले यसको सुदृढीकरणका लागि समयसापेक्ष संविधान परिमार्जन गर्न सकिने बताएका छन् ।









