
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको परिवर्तन स्थापित गर्न कांग्रेस बलियो भएर अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वदायी भूमिकामा मुलुकमा समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरिएको भन्दै परिवर्तन स्थापित गर्न कांग्रेस बलियो भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले पार्टीभित्र पूणर्रूपमा मेलमिलाप हुन नसकेको भन्दै जित र हारलाई स्वाभाविकरूपमा लिँदै पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिएका छन् । अहिलको निर्वाचन प्रणालीमा कसैको पनि बहुमत नआए पनि जनताले कांग्रेसलाई पहिलो पार्टी बनाएको भन्दै सभापति देउवाले यसमा नेता तथा कार्यकर्ताको पनि ठूलो योगदान रहेको स्पष्ट पारेका छन् । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अझै पनि दबाबमा रहेको बताएका छन् । मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ लाई सम्बोधन गदै प्रधानमन्त्री दाहालले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख देखिए पनि अर्थतन्त्र अझै दबाबमै रहेको बताएका हुन् । एक वर्षको अनवरत प्रयास पछि अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति देखिएको दाहालले दाबी गरेका छन् । महँगी नियन्त्रणका हिसाबले दुई वर्ष यताकै प्रगतिमा रहेको, भुक्तानी सन्तुलनका हिसाबले पनि अहिलेको अवस्था राम्रो रहेको दाहालले बताएका छन् । दाहालले निर्माण व्यवसायीको भुक्तानीलाई सरकारले प्राथमिकता दिएको जानकारी दिएका छन् । उनले पहिलो चरणको निकासी गरिसकेको र अर्को चरणमा पनि निकासाको प्रक्रिया सुरू भइसकेको बताएका छन् । दाहालले निर्माण व्यवसायीलाई भुक्तानी दिएपछि आर्थिक गतिविधि चलायमान हुने र नयाँ योजनाहरू पनि सुरू हुने बताएका छन् । आम नागरिक, व्यवसायीहरूको मनोविज्ञान र व्यवसायीक क्रियाकलाप भने सकारात्मक बनाउने चुनौती अझै पनि रहेको दाहालले बताएका छन् । नेपाली जनतालाई निराश तुल्याउने भाष्य निर्माण भए त्यो देशका लागि दुर्भाग्यपूणर् हुने दाहालले स्पष्ट पारेका छन् । नेपालमा एकथरी मानिस जता पनि अँध्यारो मात्रै देख्ने गरेको आरोप लगाएका छन् । दाहालले विराटनगरमा भारतबाट मालवाहक रेल ल्याउने विषयमा सरकारले भारतीय पक्षसँग छलफल गरेर निणर्य लिने जानकारी दिएका छन् । उनले आफ्नो लागि अब देश र जनताको सेवा र विकास बाहेक अर्को कुनै सपना बाँकी नै नभएको उनले बताएका छन् ।









