
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । आफूले अध्ययन गरेको सरस्वती बहुमखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले गाउँ रित्तिँदै छ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन् । उनले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली नागरिक ताँती लागेर विदेशिने क्रमलाई रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेको बताएका छन् । राष्ट्रपति पौडेलले कुनै पनि देशको शिक्षा सामाजिक, आर्थिक अवस्था र आवश्यकताअनुरुप निर्धारण हुनुपर्नेमा जोड दिँदै बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव दिएका छन् । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल लिने बताएका छन् । सरकार सञ्चालनको एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको बताएका छन् । भुक्तानी सन्तुलन झण्डै १ सय ५० अर्ब रुपैयाँले सकारात्मक रहनु र विगत कैयौं वर्षदेखि घाटामा रहेका चालु खाता समेत नाफामा रहनु सरकारको अर्को गणनीय उपलब्धि भएको स्पष्ट पारेका छन् । उनले पूँजी बजार र बिमा क्षेत्रमा मात्रात्मक सुधार त भएको तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित भएको भन्दै सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताएका छन् । सबै आर्थिक र कुटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरू फिर्ता बोलाइने बताएका छन् । त्यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् । चितवनमा आयोजित ‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८०’ को उद्घाटन समारोहमा बोल्दै उनले सो दाबी गरेका हुन् । अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरुले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गईरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन जरुरी रहेको पनि बताएका छन् । अर्थमन्त्री महतले देश भित्रै केही गर्न युवाहरुलाई पनि आह्वान गरेका छन् । नेपालमा केही छैन भन्ने सोचेर बाहिर जाने भन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरुले राखेर अघि बढनुपर्ने उनको भनाई थियो । देशमा धेरै गर्न बाँकि रहेकाले अवसर पनि यही रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले सो अवसरलाई उपयोग गर्न युवा उद्यमीहरुलाई आग्रह गरेका छन् । उनले चितवनको पर्यटन क्षेत्रमा थप आकर्षण थप्नका लागि पूर्व-पश्चिम राजमार्ग ६ लेन र जंगल क्षेत्र ४ लेनको बिस्तार गर्ने कार्यलाई सरकारले तत्काल अघि बढाउने घोषणा गरेका छन् । त्यस अवसरमा अर्थमन्त्री महतले निकुञ्जसम्बन्धि पुरानो ऐन सरकारले संशोधन गर्ने आश्वासन समेत दिएका छन् ।









