
काठमाडौं । बोक्सीको आरोप लगाई कुटपिट पश्चात हत्या गरी फरार रहेका २ जना अभियुक्त वारदात घटना पश्चात १५ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रे रोशि गाउँपालिका-३ ठेगाना भएका ४४ वर्षीय टंक बहादुर मगर र सोही ठाउँ बस्ने ४२ वर्षीय सन्त बहादुर मगर रहेका छन् । काभ्रे रोशि गाउँपालिका-३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई भतिज नाता पर्ने टंक बहादुर मगर र सन्त बहादुर मगरले २०६५ असोज २९ गते बोक्सीको आरोप लगाई कुटपिट पश्चात हत्या गरी फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पुस २४ गते पक्राउ गरेको हो । त्यस्तै दाङ, लमही नगरपालिका-६ देउपुर बस्ने ४० वर्षीय युबराज सुनुवार राई सोही नगरपालिका-७ अर्जुनखोलास्थित एक खाजा पसल अगाडि मृत अवस्थामा फेला परेका छन् । चितवन, खैरहनी नगरपालिका-१३ गौवा ढुँग्रेखोला नजिक केराघारीभित्र रोल्पा दुइखोली गाउँपालिका-१ बस्ने २५ वर्षीय विक्रम रोक्कामगर मृत अवस्थामा फेला परेका छन् । सप्तरी, सुरूङगा नगरपालिका-४ टावर चोकस्थित सडक छेउमा भारत दरभंगा घर भएका ३५ वर्षीय बलमुवा धामी मृत अवस्थामा फेला परेका छन् ।









