
भरत भूर्तेल
प्रजातान्त्रिक व्यवस्थालाई हठाथ नियन्त्रणमा लिएर निरंकुशता लाद्ने यी राजाप्रति नेपाली काँग्रेसका अन्य नेता कार्यकर्ताहरुझै सरोजप्रसाद कोइरालाभित्र समेत तीव्र घृणा थियो । नेपाली काँग्रेसको गरमपन्थीधारका मानिने उहाँ उक्त बमकाण्डमा संलग्न हुनुभएको दरबारियाहरुको आशङ्का थियो । यस काण्डका सहभागी मानिने तेजबहादुर अमात्यको २०१९ सालमा रक्सौलमा हत्या भइसकेको थियो ।
यसबाहेक धनुषा र आसपासमा हुने हरेक विद्रोही गतिविधमा सरोजप्रसाद कोइरालाको संलग्नता रहने गरेको हुन्थ्यो । कोइराला कुनै पनि बहानामा पञ्चायतविरोधी गतिविधि गर्न युवाहरुलाई प्रोत्साहित गर्नु हुन्थ्यो । पञ्चायतवादीहरु के ठान्दथे भने हरेक पञ्चायती व्यवस्थाविरोधी गतिविधिमा सरोजप्रसाद कोइरालाको संलग्नता हुने गर्दछ । धनुषाको पूर्वी क्षेत्र यदूकोहामा नयाँ शिक्षा योजनाको विरोधमा विद्यार्थीहरुले व्यापक प्रदर्शन गरे । वि.सं. २०२९ सालमा भएको यस घटनामा पुलिसले गोली चलायो र कामेश्वर मण्डल तथा कुशेश्वर यादवको हत्या भयो । यो घटना हुँदा सरोजप्रसाद कोइराला वीरगन्ज जेलमा हुनुहुन्थ्यो तथापि यस घटनामा समेत उहाँको संलग्नता हरको पञ्चायती शासकको अनुमान थियो । नयाँ शिक्षा योजना मूलतः शिक्षा क्षेत्रलाई नियोजित ढङ्गले पञ्चायतीकरण गर्ने अभियान थियो । यस अभियानका प्रति प्रजातन्त्रवादीहरुको व्यापक विरोध थियो । स्वस्फूर्त ढङ्गले भएका देशव्यापी आन्दोलनको असर धुनषा क्षेत्रमा पनि स्वाभाविक रुपले परेको थियो ।
नेपाली काँग्रेसका कार्यकर्ता स्वस्फूर्त आन्दोलनका सूत्रधार हुन्थे तर नाम जोडिन्थ्यो सरोजप्रसाद कोइरालको । नयाँ शिक्षा योजनाविरुद्धको आन्दोलनको आसपासतिर नै सरोजप्रंसाद कोइराला वीरगन्ज जेलबाट छुट्नु भयो । केही दिन जनकपुर बसेर उहाँ मधुवनी पुग्नुभयो । यसबीचमा बनारस पुगेर सम्भवतः बीपीलाई पनि भेट्नु भयो । गिरिजाप्रसाद कोइराला त्यस बेला फारविसगन्जमा बस्नु हुन्थ्यो । सरोजप्रसादको भेट गिरिजाप्रसादसँग पनि भयो ।
त्यसको केही महिनापछि वि.सं. २०३० सालको वर्षामा शाही नेपाल वायु सेवा निगमको हवाई जहाज अपहरण भयो । नेपाली काँग्रेसका मानिसद्वारा अपहरण गरिएको त्यो जहाज विराटनगरबाट काठमाडौंका लागि उडेको थियो । तीस लाख रुपियाँ (भारतीय) बोकेर उडेको जहाजलाई भारतको फारविसगन्ज भन्ने ठाउँमा अवरतरण गराइयो र जहाजमा भएको रुपियाँ लिएर उनीहरु हिडे । विना कुनै रक्तपात भएको यो जहाज अपहरण काण्डले पञ्चायती प्रशासकहरुलाई हदप्रद बनायो ।
यस अपहरण काण्डका केन्द्रीय व्यक्तित्व गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो जो पछि पटकपटक नेपालका प्रधानमन्त्री हुनुभयो । पञ्चायती प्रशासकहरुले सरोजप्रसाद कोइरालासमेत यस अपहरण अभियानमा संलग्न हुनुभएको ठाने । के सरोजप्रसाद कोइराला वास्तवमै जहाज अपहरणमा संलग्न हुनुहुन्थ्यो त ?
त्यस बेला सितामढीमा बसेर नेपाली काँग्रेसका लागि काम गरिरहनु भएका स्मृतिनारायण चौधरी भुन्नुहुन्छ, ‘यस बारेमा उहाँको गिरिजाप्रसाद कोइरालासँग सरसल्लाह भएको हुन सक्तछ ।
सरोजप्रसाद पञ्चायविरोधी हरेक कारबाहीलाई कार्यान्वयन गर्नका लागि अधैर्य हुनुहुन्थ्यो । स्मृतिनारायण सम्झनु हुन्छ, पञ्चायतको समाप्तिका लागि उहाँमा तीव्र हतार थियो । त्यसबेला जनकपुर क्षेत्रमै नेपाली काँग्रेसमा रहेर काम गर्नु हुने वरिष्ठ पत्रकार हरिहर विरही यसबारेमा भन्नुहुन्छ, हवाई जहाज अपहरण काण्डमा सरोजप्रसादको प्रत्यक्ष संलग्नता थियो थिएन थाहा छैन तर यस अपहरण काण्ड पछि दरबारियाहरु प्रतिशोधमा ओर्लेका हुनसक्छन् ।
जनकपुर अञ्चलका तत्कालीन अञ्चलाधिश लीलाराज विष्ट थिए । क्रमशः









