
काठमाडौं । व्यक्तिगत जीवनमा आएको उतार-चढावपछि अभिनेत्री शिल्पा पोखरेल ५ वर्षदेखि फिल्मबाट टाढा देखिएकी छन् । उनी अभिनीत पछिल्लो फिल्म ‘भिलेन’ हो, जुन सन् २०१९ मा रिलिज भएको थियो । यसपछि उनले नयाँ फिल्म सम्झौता गरेको जानकारीमा छैन । बरु यो बीचमा उनले तीनवटा जति भोजपुरी फिल्ममा काम गरिन् । म्यूजिक भिडियो हुँदै फिल्म ‘लज्जा’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी शिल्पाले त्यसयता ‘किस्मत २’, ‘मंगलम’, ‘हवल्दार सुन्तली’, ‘फागु’, ‘वृन्दावन’ आदि फिल्ममा अभिनय गरिसकेकी छन् । तर, उनलाई निर्माता छविराज ओझाको फिल्म मात्र फापेको थियो । पछि उनै निर्माता ओझासँगै विवाह गरेकी शिल्पा अहिले अलग भैसकेकी छन् । यद्यपि, उनले म्यूजिक भिडियोबाट आफूलाई गुमनाम हुन दिएकी छैनन् । २ वर्षयताको आँकडा हेर्ने हो भने उनले अभिनय गरेका ‘डाँडाघरे साइँली’, ‘हैन होला र’, ‘नीरमाया ठूली’ आदि गीत चर्चित छन् ।









