
काठमाडौं । मल्टीस्टार फिल्म ‘रङ्गेली’ आगामी फागुन २५ गते महाशिवरात्रीका दिनबाट प्रदर्शनमा आउने तयारीमा छ । टिजर र पोस्टर सार्वजनिक भैसकेको फिल्मको केही प्रतिशत छायांकन भने अभिनेता सौगात मल्लको पखाईमा रोकिएको थियो । उनी काम गर्न सकारात्मक पनि थिए । तर, माघ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारका कारण उनले फिल्मलाई समय दिन सकेका थिएनन् । सौगातले नभ्याएपछि उनको ठाउँमा निर्माण टिमले अभिनेता आर्यन सिग्देललाई भित्रिएको छ । अघिल्लो हप्ता काठमाडौंमा उनको भागको छायांकन पनि भैसकेको छ । फिल्ममा उनको भूमिकाबारे कुनै जानकारी प्राप्त भएको छैन । यद्यपि, फिल्म ग्याङस्टार नजारामा निर्माण भएकाले आर्यनको भूमिका पनि ग्याङस्टार हुनसक्ने आँकलन गरिएको छ । फिल्ममा आर्यनको केमियो मात्र छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका छ ।









