
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका जर्मनीको फेडरिक इवर्ट इस्टिफटुङ (एफइएस) का अध्यक्ष डा. मार्टिन सुल्जले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्य सम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूणर् सम्बन्ध रहेको बताएका छन् । राष्ट्रपतिले काठमाडौंस्थित एफईएस कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवं लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्य भएकामा त्यसको सराहना गरेका थिए । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेको वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सदैव सुरक्षित गर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन् । देशकै पहिलो टेलिभिजनले सूचना तथा सञ्चार क्षेत्रमा आएको परिवर्तनअनुसार समयानुकूल बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आफ्ना उत्पादन र प्रसारणलाई नयाँ प्रविधितर्फ व्यापकरूपमा स्थापित गर्न ढिला गर्न नहुने बताएका छन् । आम दर्शकको रूचिमा आधारित भएर विषयवस्तु तयार पार्नुपर्नेमा जोड दिँदै उनले संस्थानको विकासका लागि दीर्घकालीन योजना र स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्न नेपाल टेलिभिजनलाई सुझाव दिएका छन् । डिजिटल प्लेटफर्म र इन्टरनेटको पहुँच भएका दर्शकका रूचिलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले टेलिभिजन भनेको ‘प्रविधि र प्रतिभा’को संयोजन भएको बताएका छन् । प्रविधिमा आएको परिवर्तनले दर्शकले एक दशकअघिको समयजस्तो कार्यक्रम र टेलिभिजन च्यानललाई कोठाको टिभी सेटमा कुरेर नबस्ने बताएका छन् । उनले दर्शकको रूचि र अनुकूल प्रविधिमा हेर्ने सुविधाको सुनिश्चितता गर्ने तथा उच्च व्यावसायिकता र सृजनशीलता अपनाउन पनि सुझाव दिएका छन् । सरकारले नवीनतम् प्रविधिको प्रयोगबाट सञ्चालित मिडियालाई विश्वसनीय, जिम्मेवार र जवाफदेही बन्न स्वनियमनको प्रणाली अवलम्बन गर्नुपर्छ भनेर आग्रह गर्दै आएको प्रधानमन्त्री दाहालले स्मरण गराएका छन् । दीर्घकालमा न्यू-मिडियाको विश्वसनीयतालाई बलियो बनाउँदै नयाँ प्रविधिको प्रयोगबाट हुने सूचना सामग्रीको सम्प्रेषणलाई समेत थप प्रभावकारी बनाइने उनले बताएका छन् । उनले सामाजिक सञ्जाल विस्तारित हुँदै गर्दा मूलधारका सञ्चारमाध्यम र सञ्चारकर्मीको जिम्मेवारी अझ बढ्दै गएको बताएका छन् । यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको बताएका छन् । सिन्धुपाल्चोकको थाङ्पालधाममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै ओलीले एमाले सरकारले मुलुकको विकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको बताएका छन् । गठबन्धन सरकार बन्ने बित्तिकै विकासका सबै योजना काटिएको उनले बताएका छन् । ओलीले अहिलेको सरकारले मुलुकको विकासमा ध्यान दिन नसकेको आरोपसमेत लगाएका छन् । ओलीले अहिले नेपाल माथि गठबन्धन नामको ग्रहण लागेको बताएका छन् । देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ-दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका ओलीको टिप्पणी थियो । उनले अब एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने बताएका छन् । ओलीले देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको उनले प्रष्ट पारेका छन् ।









