
-परमानन्द झा-
बम विष्फोट र सर्वोच्चमा रिट ः मैले हिन्दीमा शपथ ग्रहण गरेपछिका दिनहरु कडा कहाली लाग्दा थिए । ममाथि दुई कोणबाट प्रहार भयो । एक त मेरो घर छेउमै बम विष्फोट गराइयो, अर्को सर्वोच्च अदालतमा रिट हालेर मेरो मद नै निष्क्रिय तुल्याइयो ।
शपथ ग्रहणकै दिन साँझको त्यस्तै सात/आठ बजेको हुँदो हो, मेरो घर छेउमै चौरमा एक्कासि बम विष्फोट गराइयो । त्यसको ३ दिनपश्चात मेरो कोठालाई लक्षित गरेर झ्यालमा बम फालिएको थियो । संयोगवश म बाहिर बरन्डामा थिएँ । मेरो कोठाको झ्यालका सिसाहरु चकनाचुर भए । पर्खालमा पनि हल्का क्षति भयो । केही दिनपछि फेरि घरको पछाडितिर चौरमा बम पड्कियो । त्यसबाट कुनै क्षति त भएन, आवाज भने निकै डरलाग्दो थियो । मेरो धेरै साथीहरु तपाईलाई तर्साउन सरकारले नै यो बम पड्काउन लगाएको होला भन्थे । सत्य कसैलाई थाहा थिएन । अड्कलबाजी मात्र थियो ।
करिब पाँच/छ महिनापछि कुनै संगठनका दुई जना मानिसलाई मेरो घरमा बम पड्काएको अपराधमा प्रहरीले पक्राउ गर्यो । काठमाडौं जिल्ला अदालतमा मुद्दा नै चलायो । तर त्यो देखावटी मुद्दा थियो । त्यसमा प्रमाण पुगेको थिएन र काठमाडौ जिल्ला अदालतको केही सीप लागेन । सरकारी मुद्दा भएकाले मैले पनि त्यसमा कुनै ध्यान दिइन । पछि त्यो मुद्दा पुनरावेदन अदालतमा पुग्यो ।
उपराष्ट्रपतिको निवासमा फालेको बमको सम्बन्धमा सरकारको अनुसन्धान फितलो भयो । कानुनबमोजिम अपराधीलाई सजाय दिने चेष्टै भएन । औपचारिक रुपमा जनतालाई देखाउन त्यो मुद्दा चलाइएको जस्तो भन भयो । पुनरावेदनमा पनि मुद्दा ठहरिएन । मुद्दा नठहरिएकाले यसमा सरकारकै कतै न कतै षड्यन्त्र छ भन्ने विश्वास मलाई पनि हुन थाल्यो । यो कुरा मैले आईजीपीसमक्ष पुर्याएँ । मैले आईजीपीलाई भने, तपाईहरुको अनुसन्धान नै फितलो भयो । तर उनीहरुले यो प्रकरणमा कुनै चासो देखाएनन् ।
यो विषयमा मैले राष्ट्रपतिसँग पनि धेरैपटक छलफल गरेँ । अन्य नेता तथा प्रधानन्यायाधीशसँग पनि मैले यो सवाल उठाएँ । क्रमशः









