
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधार गर्दै राष्ट्रको साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको तेस्रो अधिवेशन प्रारम्भ भएको अवसरमा संसद् बैठकको सुरुमा संक्षिप्त मन्तव्य राख्दै सभामुख घिमिरेले जनताको प्रतिक्रिया र सुझाव आत्मसाथ गर्दै संसद् अधिवेशनलाई नतिजामुखी बनाउनु पर्ने बताएका छन् । संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले संसदीय प्रणालीप्रतिको विश्वास र भरोसा वृद्धि हुने उनको भनाइ थियो । लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने बताउँदै उनले जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गरेका छन् । संसदीय प्रणालीमा संसद्को काम कानुन निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने, जनसरोकारका मुद्दाको सम्बोधन गर्ने, सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कानुन बनाई सहयोग गर्ने रहेको उनले बताएका छन् । संसद्का विगतका दुई अधिवेशन कानुन निर्माणका रूपमा नतिजामूखि नभएको आफूले पाएको सभामुखको भनाइ थियो । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयकहरु पारित गर्ने कुरामा केन्द्रित हुने बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताएका हुन् । उनले संसद अधिवेशनको शुरुवात राम्रो वातावरणमा शुरु भएको प्रतिक्रिया समेत दिएका थिए । यसैबीच समुदायमा कांग्रेस अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइरालासामु विभिन्न तहका कार्यकर्ताहरूले गुनासोका पोको थुपारेका छन् । दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी विचार शून्य भएको भन्दै अब माओवादीलाई बोकेर हिंड्न नसकिने चेतावनी दिएका थिए । सहभागीहरूले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासोहरू राखेका थिए । भ्रष्टाचारी, माफियासँग टाढै बस्नसमेत उनीहरूले नेताहरूलाई सुझाव दिएका छन् । सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सबालमा पार्टीभित्र छलफल हुने र अबका कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने ठोकुवा गरेका छन् ।









