
– अर्जुननरसिंह के.सी. –
पहिले नेपालगञ्ज र पछि गोग्राहा बजार नामको फुसका झुपडीको साँघुरो बजारलाई विराटनगर नामकरण गर्नुका साथै विद्यालय, मन्दिर, हुलाक, बजारअड्डा स्थापित गर्न र राम्रा व्यापारीहरुलाई विराटनगरमा ल्याएर विराटनगरको गुल्जार गराउनमा उहाँको विशेष योगदान थियो । चन्द्र शम्शेरको पालामा केही अवधिसम्म खरदारको जागिर खाएकोले उहाँलाई खरदार बाजे र पिताजी भनिन्थ्यो, नेपालको युगान्तकारी परिवर्तनको महत्वपूणर् कालखण्डमा प्रधानमन्त्री बनेका ३ सुपुत्रका पिताजी को पूर्वाञ्चलकै शिक्षा विकासमा योगदान थियो । पाहुना पाल्ने र पत्र लेख्ने उहाँको शोखर नै थियो । दरबाररिया लवज र शैलीको प्रभाव आफ्नो परिवारमा नपरोस् भनेर बुबा को सट्टा पिताजी बोलाएको बेला हजुर भन्ने जवाफको सट्टा आज्ञा जस्ता शब्द उहाँले प्रचलनमा ल्याउनुभयो । आफ्नो कुरालाई सत्य बनाउँदा किरिया कसम खाने, दुई अक्षरका अश्लील बोलीमा उहाँको कडा प्रतिबन्ध थियो ।
कृष्णप्रसादको जन्म सिन्धुलीको दुम्जा गाउँमा वि.सं. १९२६ मा भएको थियो र स्थायी बसोबास तीनजना दाजुहरुको साथ विराटनगरमा भयो । व्यापारको सिलसिलामा कलकत्ता आवतजावत बढेपछि उहाँमा राजनीतिक चाख र कृयाकलाप बढ्नथाल्यो । छोरी तथा बुहारीलाई पनि छोरासरह शिक्षा दिने, उनीहरुलाई पौडी खेल्न, घोडा चढ्न लगायतका आत्मनिर्भरवादी शिक्षा दिनमा उहाँको जोड हुन्थ्यो ।
चन्द्र शम्शेरको शासनमा पहिले त शासन सत्तासँग कृष्णप्रसाद कोइरालाको राम्रो सम्बन्ध थियो । उहाँकै सल्लाहमा चन्द्र शम्शेरकी पत्नी अध्यक्ष र उहाँकी धर्मपत्नी दिब्या कोइराला सचिव भएको नेपालमा पहिलोपटक महिला समिति गठन भएको थियो । भन्सारको सरकारी आम्दानी उठाएर दाखिला गर्न अमानतमा भन्सारको ठेक्का दिने त्यो बेलाको प्रचलनअनुरुप कृष्णप्रसादले ठेक्का पाउनु भएको थियो । तर सरकारले तोकिदिएको अनिवार्य आम्दानी रकम भन्सारबाट उठ्न सकेन । सरकारी हिसाब बुझाउने ताकेता र दबाब बढ्न थालेपछि, कंगाल जनता बसेको मुलुकमा कसरी सरकारको भन्सार उठ्नसक्छ भन्ने सांकेतिक विरोध देखाउन, एकदिन कृष्णप्रसाद कोइरालाले सिराहाको माडर चन्द्रगञ्ज मा झुत्रा चिथरा लुगा लगाएर पहाडबाट आएका गरिब भरियाको समुहमध्ये एकजनाको लुगा नयाँ लुगासँग साटेर पार्सल गरी चन्द्र शम्शेरकहाँ पठाईदिनु भयो । त्यसपछि क्रुद्ध चन्द्र शम्शेरले उहाँलाई सर्वश्वहरण गरी पक्राउ गर्ने तारतम्य गर्न थालेको थाहा पाएपछि उहाँ भारत निर्वासनमा जानुभयो ।
चन्द्र शम्शेरको शासन रहँदासम्म उहाँ ठूलो परिवारसहित बनारसमा बस्न पुग्नुभयो । बनारसमा बस्दा उहाँसहित देवीप्रसाद सापकोटा, सूर्यविक्रम ज्ञवाली, धरणिधर कोइराला मिलेर गोर्खाली नामक पत्रिका चलाउनु भयो । फालिदेउ डरको अब थैलो…. जस्ता कविता र चन्द्र शम्शेर शासनको रहस्य र पोल खोल्ने विवरण उहाँले छपाउने गर्दा चार वर्षपछि ब्रिटिश शासनले सो पत्रिकामा प्रतिबन्ध लगायो । त्यसपछि उहाँ हिन्दुस्तानका विभिन्न ठाउँमा यायावर जीवन बिताउँदै भौतारिँदै अन्त्यमा कोशी नदी किनार बिहारको दीपनगर टेडी भन्ने ठाउँमा फुसको झुपडी हालेर बस्न थाल्नुभयो । त्यहाँ उहाँले महात्मा गान्धीको सावरमती आश्रमबाट प्रभावित भएर त्यस्तै बनाउने प्रयासका साथ, आदर्श विद्यालय नामक स्कुल पनि चलाउनु भएको थियो ।
भीम शम्शेर शासनमा आएपछि वि.सं. १९८६ मा उहाँले माफी पाएर निर्वासनबाट स्वदेश फर्किदा सो विद्यालयलाई उहाँले विराटनगरमा सार्नुभयो । काठमाडौं उपत्यकाबाहिर स्थापित भएको त्यो नै एकमात्र हाईस्कुल थियो । आदर्श विद्यालयले विराटनगरमा शैक्षिक क्रान्ति ल्यायो । क्रमशः









