
– अर्जुननरसिंह के.सी. –
प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय, बीपीपत्नी सुशीला कोइराला, विश्वबन्धु थापा, नगेन्द्रप्रसाद रिजाल, तोलाराम दुगड, हंशरजा गोल्छा, डीपी अधिकारी, केशव र तारिणी कोइराला, सीपी लोहनी, युवराज शर्मा, हिन्दीका प्रसिद्ध उपन्यासकार/कथाकार फणीश्वरनाथ रेणु आदि त्यस विद्यालयका उत्पादन थिए ।
वि.सं. १९९९ मा भारतीय जेल फोरेर नेपालमा बसेका भारतीय स्वतन्त्रता सेनानी जयप्रकाश नारायण, डा राममनोहर लोहियाहरुलाई विराटनगरको कोइराला निवासमा लुकाएर राख्ने गरेको झुठो अभियोग खडा गरी पोल लगाएपछि कोइराला निवासमा छापा मार्नुका साथै कृष्णप्रसाद पक्राउ पर्नुभयो । साथै माधवप्रसाद नेपाल, देवनारायण सिंह लगायत कोइलाडी सप्तरी का राजपुत गरी ३६ जना पनि पक्राउ परे । कृष्णप्रसाद कोइराला काठमाडौंको भद्रगोल जेलमा बन्दी बनाइनु भयो ।
बुढ्याई र बिरामीका कारण बन्दीगृहमै ओछ्यान परेका कृष्णप्रसादको अन्तिम अवस्था थाहा पाएर शासकले पिताजीलाई बन्दीगृहबाट बाहिर लैजाने आदेश दिए । त्यसपछि उहाँलाई त्रिपुरेश्वरस्थित धर्मशाला आज आँखा अस्पतालको पुरानो भवन मा पुर्याइयो, त्यहीँ उहाँको निधन भयो । दाहसंस्कारका बेला कठोर राणाशाहीका डरका कारण धेरै उपस्थित हुन पाएनन् । एकजना सैनिक, आमा दिव्या कोइराला, केशव कोइराला र पत्नी नोनासमेत ४ जनाले बोकी घाट पुर्याएर अन्तिम दाहसंस्कार गर्नुपरेको थियो । राजनीतिक आस्थामा दृढ कृष्णप्रसादलाई राष्ट्रिय काँग्रेसको स्थापना हुँदा सहिद घोषणा गरिएको थियो ।
मैनाबहादुर खत्री, जेलमा सहिद हुने पहिलो पार्टी नेता ः- पहिलो राजनीतिक दल प्रचण्ड गोर्खा (स्था. १९८८ मध्य साउन) का मूख्य संस्थापक नेता मैनाबहादुर खत्री हुनुहुन्थ्यो । उहाँ दीन दुःखीको सेवा सहयोग गर्न सदैव तत्पर रामायणका ज्ञाता र रामभक्त हुनुहुन्थ्यो । बाबु फौदे सवार राणाशाहीको सेनामा कारिन्दा थिए । फौदे सवार आफ्ना तत्कालीन राणा मालिकहरुसँग भारत गईरहने हुँदा नाबालक छोरा मैनाबहादुरलाई भारत देखाउन खासगरी कलकत्ता लगिरहन्थे । कलकत्ता गएको बेला एकदमै प्रभावकारी तरिकाले चलिरहेको ब्रिटिश विरोधी राजनीतिक आन्दोलन बङ्ग-भङ्ग किशोर मैनाबहादुरमा गाढा प्रभाव परेछ ।
अलिक युवा भएपछि मैनाबहादुरको मनमा राणाशाही समाप्त पार्नुपर्ने दृढ विश्वास जागृत हुनथाल्यो । सुब्बाको ओहोदासम्म पुगेपछि सेनाको क्याप्टेनसमेत भईसकेका खण्डमान सिंह बस्नेतले प्रचण्ड गोर्खाको स्थापनामा साथ दिनुभयो । रंगनाथ शर्मा, खड्गमानसिंह बस्नेत, बारा बरियारपुर निवासी साहेबज्यू उमेशबिक्रम शाह (कृष्णराजा) पनि संस्थापकको रुपमा जुटे ।
वि.सं. १९८७ मा प्राईम्मिनिस्टर भएका भीम शम्शेर टंगाल दरबारमा बस्दथे । जावलाखेलमा बस्ने गरेका तत्कालीन कमाण्डर इन चिफ जुद्ध शम्शेर भीम शम्शेरलाई भेट्न टंगाल जाँदा, आजको पुतलीसडक त्यस बखतमा नभएकोले कालिकास्थानको बाटोबाट डिल्लीबजार हुँदै जानुपथ्र्यो । कालिकास्थान र डिल्लीबजार चोकमै तैनाथ भएर यिनै मध्ये चारजनाले जुद्ध शम्शेरको लावालस्करमा बम हानी सबैलाई एकैचिहान गर्ने गोप्य योजना बनाउनु भएको थियो ।
उता भीम शम्शेरलाई गोली हानी ढाल्न बम्बु कर्नेलको नाती नानीकाजी सिजापतिलाई ठीकठाक बनाईएको थियो । प्रचण्ड गोर्खा संस्थापकको समुहमा जुद्ध शम्शेरकै ज्वाई लक्ष्मण राजा पनि हुनुहुन्थ्यो । प्रचण्ड गोर्खा स्थापना र योजनाको खबर राजा त्रिभुवनसमक्ष पुर्याउने उहाँको जिम्मा थियो । उहाँ भीम शम्शेरको मात्र हत्या चाहनुहुन्थ्यो । कुरा नमिलेपछि यो निणर्यमा रगतको सहीछाप गर्न लगेको कागत उनैले जुद्ध शम्शेरकहाँ पुर्याईदिए ।
तर षड्यन्त्रको पर्दाफास हुनासाथ १९८८ साउन २६ गते सबै जना पक्राउ परे । क्रमशः









