
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितहरुलाई न्याय दिने काम भइरहेको बताएका छन् । प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितहरुलाई न्याय दिने काम भइरहेको बताएका हुन् । उनले तत्कालिन आयोगमा आएका उजुरीहरुलाई मन्त्रिपरिषद्ले निणर्य गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै पहिले प्रहरीले मेलमिलापको अपील गर्ने बताएका छन् । यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएकी छन् । बलिदान दिवस तथा सहिद सप्ताहका अवसरमा अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ता, नयाँ उत्साह र योजनाका साथ अघि बढ्नपर्ने बताएकी छन् । माओवादीले जनयुद्ध गरेपछि २०५२ साल फागुन १४ गते तत्कालीन सरकारद्वारा दिलबहादुर रम्तेल मारिएको स्मरणमा अखिल क्रान्तिकारीले हरेक वर्षको फागुन १४ गतेलाई बलिदान दिवसको रुपमा मनाउँदै आएको छ । फागुन १४ को रम्तेले हत्यादेखि फागुन २१ को सुखानी हत्याकाण्डसम्मलाई जोडेर माओवादी केन्द्रलगायतका दलहरुले सहिद सप्ताह मनाउँदै आएका छन् । सोही क्रममा अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी स्थायी समिति सदस्य समेत रहेकी मन्त्री शर्माले अघिल्लो पुस्ताको बलिदानका आजको पुस्ताले राजनीतिक स्वतन्त्रता प्राप्त गरेको बताएकी छन् । त्यस्तै निषेधित क्षेत्र तोडेर लघुवित्त पीडितहरू संसद भवन प्रवेश गरेको घटनामा अनुसन्धान गर्न प्रहरीले छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीएसपी छन् । प्रवक्ता ढकालले निषेधित क्षेत्रमा प्रदर्शन गर्न कसैलाई अनुमति नभएको बताउँदै घटनामा दोषी देखिएकाहरूमाथि कारवाही हुने बताएका छन् । सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेका बेला लघुवित्त पीडितहरू भवन परिसरमा प्रवेश गरी नाराबाजी गरेका थिए ।









