
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवं प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुने बताएका छन् । मण्डनदेउपुर नगरपालिकाको सातौँ स्थापना दिवस तथा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले संविधानको भावना तथा सङ्घीयताको मर्मअनुरुप हुनेगरी राज्यबाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्नेमा जोड दिएका छन् । उनले विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बताएका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीजरल्याण्डको जस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँ राज्य संरचना तर्जुमा गरेको बताएका छन् । राज्यको पुनःसंरचनाका क्रममा स्थानीय तहको गठन भई सङ्घीयता कार्यान्वयन भएको योे अवधिसम्म पनि देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेका बेला यस नगरपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी जनतालाई दिने सेवासुविधालाई सहज एवं प्रभावकारी बनाउन आवश्यक सुविधा सम्पन्न प्रशासकीय भवन बनाएकामा उनले नगरपालिकाको सराहना गरेका छन् । मुलुक सङ्घीयतामा रुपान्तरण भएपछि केन्द्रमा रहेका राजनीतिक, आर्थिक तथा न्यायिक अधिकार जनताको घरदैलो नजिक स्थानीय तहसम्म पुर्याइएका सन्दर्भमा बृहत्तर सेवा प्रवाह गर्न भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको उनको भनाइ छ । त्यस्तै राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित गरिएको छ । संघीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गरेको हो । तालिका अनुसार फागुन २९ गते निर्वाचन तय गरिएको छ । त्यस्तै सोमबार ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ भने १ः३० बजे उमेदवारको नामावली प्रकाशित गरिने भएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरण बनेकाले छिट्टै न्यूनतम नीति तथा साझा कार्यक्रम आउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले उनले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’अनुसार काम गर्न निर्देशन दिएका छन् । उनले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको लक्ष्यअनुसारको कार्यसम्पादन प्रगतिसम्बन्धमा मासिकरूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजना नियमित गर्नका लागि नियमित कार्यतालिका बनाएर अगाडि बढ्ने व्यवस्था गर्न निर्देशन दिएका छन् । सम्पूणर् कर्मचारीतन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणका रुपमा प्रस्तुत हुनुपनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले विद्यमान प्रगति सन्तोषजनक मान्न नसकिने स्पष्ट पारेका छन् । आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयारीको चरणमा प्रवेश भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्षको कार्यसम्पादनको स्थिती विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न निर्देशन दिएका छन् ।









