
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । उनले गृहमन्त्री लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको टिप्पणी गरेका छन् । उनले सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको समेत बताएका छन् । कांग्रेसले रवि लामिछानेमाथि अनुसन्धान भएकोले संसदीय छानबिन समितिको माग गर्दै लगातार सदन अवरोध गरिरहेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले भने सहकारी काण्डमा रवि लामिछानेको कुनै संलग्नता नरहेको स्पष्ट पारिसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रविमाथि संसदीय छानबिन समिति आवश्यक नरहेको बताइसकेका छन् । त्यस्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा नेपाली कांग्रेसले प्रमाणबिना आफूमाथि निहुँ खोजेको आरोप लगाएका छन् । सहकारी पीडितले प्रहरीमा दिएको उजुरीलाई कागजको खोस्टोको संज्ञा दिँदै गृहमन्त्री लामिछानेले बिना कारण राजीनामा माग्नु ठिक नहुने तर्क गरेका छन् । राष्ट्र र नागरिकको सेवा गर्ने अवसर जुरेकोमा सरकारमा सहभागी भएको उनको भनाइ छ । उनले यो अवसरलाई परिणाममुखी बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले आफूहरूलाई देशको ठूलो दल नेपाली कांग्रेसलाई जस्तो काम गर्न नसकेर प्रधानमन्त्रीले गलहत्याएर निकाल्नुपर्ने अवस्था नआउने दावी गरेका छन् । आफूमाथि लागेका आरोपबारे पार्टीमा छलफल गरी सार्वजनिक गरेको भन्दै कांग्रेसले आफ्नो जवाफ सुन्न धैर्यता नगरेको दावी गरेका छन् । यसैबीच अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन् । हालसालै अर्थमन्त्री पुन र विश्व बैङ्कका उपाध्यक्ष त्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअल संवाद भएको थियो । उक्त संवादका क्रममा अर्थमन्त्री पुनले लगानी सम्मेलनमा भाग लिनका लागि निम्ता गरेको उनको सचिवालयले जनाएको छ । उक्त संवादका क्रममा अर्थमन्त्री पुनले उनीहरुलाई औपचारिक रुपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रुपमा पनि निम्तो दिएको बताएका छन् । जवाफमा उपाध्यक्ष रेजरले निमन्त्रणाका लागि धन्यवाद दिँदै नेपाल र विश्व बैङ्कबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको अर्थमन्त्रीले बताएका छन् । अर्थमन्त्री पुनले लगानी सम्मेलनका लागि आवश्यक कानुनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी गराएका छन् । सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको बताउँदै उनले विश्व बैङ्कसहित अन्य विकास साझेदारसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।









