
-परमानन्द झा-
यदि मैले त्यो बेला अडान नलिएर नेपाली भाषामै शपथ लिएको भए अरु भाषाको औचित्य हुँदैनथ्यो ।
६ महिनासम्म म संस्थागत रुपमा निष्क्रिय रहेँ । त्यो बेला उपेन्द्र यादवले मलाई नेपालीमा शपथ ग्रहण गर्नु भनेर भन्न आउनुभएन । तर, विवाद हुन थालेपछि उहाँले तपाई राजीनामा दिनुहोस् भन्नुभयो । तर मैले इन्कार गरेँ । मैले यादवजीसँग भनेको थिएँ, म राजीनामा दिन्छु तर अर्को उपराष्ट्रपतिको निर्वाचन गर्न पाईदैन । मैले छाड्नेबित्तिकै अर्को उपराष्ट्रपतिको उम्मेदवार खोज्ने जाने हो भने चाहिँ म राजीनामा दिन्न ।
त्यो बेला मेरो अवस्था उपराष्ट्रपतिको निर्वाचन जितेको तर शपथग्रहण नगरेको पिरियड थियो । म उपराष्ट्रपति बनिसकेको थिएँ तर मलाई कार्यभार सम्हाल्ने कुनै प्रकारको हक थिएन । अहिले पनि मन्त्री तथा उपराष्ट्रपति जेहोस् उनीहरुको दुईटा अवस्था हुन्छ । त्यहाँ कुनै मन्त्रीहरु निर्वाचन अगाडिका हुन्छन्, कोही निर्वाचन पछाडिका । पहिलाको मन्त्रीले सुविधाहरु लिइरहेका हुन्छन् । तर, मेरो अवस्था चाहिँ सुविधाविहीन थियो । सरकारको गाडि, ड्राइभर, सुरक्षा केही पनि थिएन ।
यस अवधिमा मैले मधेसका सबै जिल्ला घुमेँ । आफ्ना कुराहरु मैले मधेसी समुदायमा राख्ने अवसर पाएँ । आफूप्रतिको सरकारको धारणा, विचार र आफ्नो निणर्यबारे मधेसी समुदायलाई स्पष्ट बताएँ । मेरो कुरा सुनेपछि मधेसी समुदायले मप्रति राखेको सहानुभूति उनीहरुको व्यवहारले स्पष्ट गथ्र्यो । मधेस र मधेसीको भाषाप्रतिको मेरो माया र सम्मान उनीहरुले बुझे । पहिला मधेसी जनताहरुको मप्रतिको जुन घृणित दृष्टिकोण थियो, त्यो हटेर गयो । मेरो त्यो क्रियाकलापले गर्दा राष्ट्रपतिलाई पनि विदेश भ्रमणमा जान अप्ठ्यारो परेको थियो ।
त्यसैताक भारतबाट पशुपतिनाथको दर्शनको लागि आउनुभएका चन्द्रा स्वामीसँग मेरो कार्यकक्षमा करिब एक घण्टा छलफल भएको थियो । उहाँले राहुको दशाले विघ्नबाधा उत्पन्न भइरहन्छ भन्नुभयो । त्यसको निदानको लागि कुम्भ मेलामा अनुसरण गर्न हरिद्वार आउन आग्रह गर्दै स्वामीले भन्नुभयो, त्यहाँ राहु दशको निदान गर्छु । क्रमशः









