
प्रधानमन्त्री पुष्पकमल दाहालले काम गर्न नसके पदमा बस्नुहुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले विकास निर्माणको कामलाई गति दिने, सुशासन कायम गर्ने लगायतका कामहरु गर्ने भनेर आफूले नयाँ सत्ता समीकरण बनाएको उल्लेख गर्दै ती काम पनि हुन नसके फेरि पनि उथलपुथल गर्न बेर नलाग्ने उल्लेख गरेका छन् । कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर आफूले यस अघि पनि सार्वजनिक रूपमै भनेको उल्लेख गर्दै उनले त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने स्पष्ट पारेका छन् । प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको स्पष्टीकरण पनि दिएका छन् । प्रधानमन्त्री दाहालले मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर सशर्त अनुदानको रुपमा पठाउने काम आगामी आर्थिक वर्षदेखि हुनै नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको गुट एक नभएसम्म आगामी निर्वाचनको मिसन-८४ पूरा नहुने बताएका छन् । स्थगित भएको आफ्नो ‘संवाद यात्रा पुनः सुचारु गर्न नवलपरासी पुगेका महामन्त्री थापाले आगामी चुनावमा कांग्रेस कसैसँग नटाँसिएरै चुनाव लड्ने भएकाले त्यसका लागि पार्टीभित्रकै गुट एक हुनुपर्नेमा जोड दिएका हुन् । गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको प्रतापपुरमा पुगेपछि कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपश्चात स्थगित भएको थियो । रोकिएको यात्रालाई सोही ठाउँबाट पुनः निरन्तरता दिन उनी त्यहाँ पुगेका हुन् । प्रतापपुरस्थित गुठीप्रसौनीमा रहेको विपी कोइरालाको शालिकमा माल्यार्पण गरेर महामन्त्री थापाले संवाद यात्राको सुरु गरेका हुन् । माल्यार्पणपछि सदरमुकाम परासी पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गुटका कारण कांग्रेसका ८ लाख क्रियाशिल कार्यकर्ता आफैंमा असन्तुष्ट र दुःखी भएको बताएका छन् । गुटको लडाइँ केन्द्रबाट आएर समाधान नहुने भन्दै नेता थापाले त्यसका लागि जिल्ला तहबाटै त्यसको सुरुवात हुनुपर्ने र केही जिल्लामा त्यसको सुरुवात भइसकेको उनको तर्क थियो । हिजोका गल्ती कमजोरीलाई आत्मसाथ गर्दै आगामी मिसनका लागि कार्यकर्ताहरू मतदाता समक्ष जान पनि उनले जिल्लाका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । नेता थापाले सुरु गरेको मेची-महाकाली संवाद यात्रा १७ गते बाँकेमा पुगेर पुनः स्थगित हुने छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । प्रारम्भिक उम्मेदवारहरु छ जना नै सँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बू उम्मेदवार बनेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् । इलाम-२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बू र डा. शेष नारायण न्यौपाने रहेका थिए ।









