
काठमाडौं । ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’ले नेपाल र विदेशमा ठूलो अंक जोडेको छ । गत चैत ९ गतेदेखि प्रदर्शनमा आएको फिल्मले चार हप्तामा नेपालभित्र मात्र १६ करोड हाराहारी व्यापार गरेको निर्माण कम्पनी षट्कोण आर्ट्सको दाबी छ । हालै सार्वजनिक एक पोस्टरमा फिल्मको चार हप्ताको कमाई १५ करोड ९० लाख उल्लेख गरिएको छ भने देशबाहिरको अंक १० करोड ७५ लाख देखाएको छ । निर्माण कम्पनीका अनुसार, देश र देशबाहिर गरी फिल्मको व्यापार २६ करोड ६५ लाख पुगेको छ । विदेशको कमाईमा मध्यपूर्वी, अष्ट्रेलिया र अमेरिकाको ठूलो योगदान छ । अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ले अघिल्लो श्रृंखला ‘जात्रै जात्रा’को कमाईलाई समेत उछिनिसकेको छ ।









