
-परमानन्द झा-
मधेसीका यस्ता समस्या नेपाल सरकारले पनि बुझिदिनुपर्छ । तराईका जनता पनि नेपाल सरकारको उत्तरदायित्वभित्र पर्छन् । उनीहरुलाई आवश्यक परेको बेलामा भारतीयसँग अनुहार मिल्यो भनेर पठाउनु कहाँसम्मको न्याय हो । उनीहरुलाई युपी विहारको भनेर हेप्नु कहाँसम्मको मानवता हो ?
मेरो मातृभाषा मैथिली हो । मलाई नेपाली आउँदैनथ्यो । राति सँधै म होटेलमा खाना खान जान्थेँ । त्यो नेपालीको होटेल हुन्थ्यो । टुटेफुटेको भाषामा भए पनि नेपाली नबोली हुँदैनथ्यो । उनीहरुलाई मेरो भाषा आउँदैनथ्यो । यही कर बलले मैले नेपाली भाषा बोल्न सुरु गरेँ । त्यसरी बाध्यताबाट सिकेको नेपालीबाट मैले लोकसेवाको जाँच दिएँ । जागिर खाएँ । तैपनि नेपालीमा पोख्त भइन ।
पानी लिन जाँदा धारामा महिलाहरु हुन्थे । मलाई शुद्ध नेपाली आउँदैनथ्यो । एकचोटि मैले धारामा गएर ‘ए आईमाई, हट है म पानी लिन्छु’ भने । यसरी मैले आईमाई भनेको सुन्दा उनीहरु छक्क पर्थे, कोही कोही त रिसाएकोजस्तो भावमा मलाई हेर्थे । यदि कसैलाई नेपाली भाषा सिक्नु छ भने लाज मानेर सिक्न सकिँदैन । आफनो मनमा आएको कुरा बोल्दै जानुपर्छ । जिस्क्याउने मानिसहरु हुन्थे । नेपाली समाजमा अरुको खिसी गर्न के बाँकी राख्थे ? तर उनीहरुले जिस्क्याएको म बुझिदिनथेँ ।
हाम्रो भाषा मैथिली भए पनि हिन्दी भाषाको प्रयोग धेरै हुन्थ्यो । नेपालभित्र बस्ने मैथिलीलाई स्वतः हिन्दी आउँछ । मैथिली, भोजपुरी भाषामा हिन्दी राख्दा उच्चताभास हुन्छ । भाषाशास्त्री र भाषा अधिकारवादीले भाषालाई महत्व दिनु स्वाभाविक हो । तर, तराईमा भोजपुरी, मैथिली भाषा बोल्ने मानिसले बडप्पन देखाउन पनि हिन्दी बोल्न थाल्छन् ।
मेरी श्रीमतीको मातृभाषा भोजपुरी हो । भोजपुरी भाषा मैले बोल्दा मेरो पहिलाको नेपाली जस्तै हुन्छ । मैथिलीभन्दा अवधी झन् फरक छ । तुलसीदासकृत रामायणको भाषा अवधी हो । यसरी कुनै भाषा प्रयोग गर्दा आफूलाई अप्ठ्यारो भयो भने त्यहाँ हिन्दी भाषाको प्रयोग हुन्छ ।
म न्यायाधीश भएपछि भने त्यति धेरै समस्या आएन । फैसला लेख्दा शुद्धाशुद्धी धेरै हेरिँदैन । त्यो लेख्दै जाँदा मेरो नेपाली पनि शुद्ध भइसकेको थियो । क्रमशः









