
काठमाडौं । संसदको गतिरोध अन्त्य गर्न सत्ता गठबन्धनका शीर्ष नेताबीच सिंहरदवारमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेताहरू सहभागी थिए । प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा प्रमुख प्रतिपक्षी दलले उठाउँदै आएको संसदीय छानबिन समितिको माग र संसदको गतिरोध हटाउने विषयमा छलफल भएको थियो । यसैबीच सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई भेटेर सहजरूपमा सदन सञ्चालनका लागि आग्रह गरेका थिए । त्यसैगरी सत्तारुढ प्रमुख तीन दलका शीर्ष नेताहरुले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने अडान राखेका छन् । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच सहकारी प्रकरणमा आफैँले लगाएको आरोपको खण्डन गर्न पाउने गृहमन्त्रीको लोकतान्त्रिक अधिकारको अभ्यास गर्नका लागि नेपाली कांग्रेस तयार हुनुपर्ने अडान राखेका हुन् । सत्तारुढ दलका शीर्ष नेताहरुले संसदमा गृहमन्त्रीले आफूमाथिको आरोपको जवाफ चित्त नबुझे छानबिनका लागि कांग्रेसले राखेको मागको सम्मान गर्ने पनि प्रस्ट्याएका छन् । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री लामिछानेले संसद र सडक सबैतिर आफूमाथि लगाइएको आरोपको खण्डन गर्न संसदमा आफूले बोल्न पाउनुपर्छ भन्ने कुरामा छलफल गरिएको बताएका छन् । यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौको रत्नपार्कमा अपाङ्गता भएका व्यक्तिहरुको धर्ना, अनसन तथा शान्तिपूणर् सडक आन्दोलनमा प्रहरी दमन र धरपकडप्रति आपत्ति जनाएको छ । पूणर् अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ सँग सम्बन्धित सामुदायिक सहायता सेवामा उल्लेख भएको व्यक्तिगत सहयोगीको माग गर्दै विगत दुई हप्तादेखि निरन्तर आन्दोलनमा रहेका छन् । धरपकडमा अपाङ्गता भएका केही व्यक्तिहरु घाइते भएको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै आन्दोलन संयोजक विकास थापा लगायत करिब दुई दर्जन अपाङ्गता भएका व्यक्तिहरु पक्राउ परेका र अपाङ्गता भएका व्यक्तिहरुको संवेदनशीलतामाथि ख्यालै नगरी भएको यस प्रकारको दमन र धरपकडको नेपाली कांग्रेस घोर भत्सर्ना र निन्दा गरेका छन् । विगत केही महिना अघि दीपक भण्डारी सहित अपाङ्गता भएका व्यक्तिहरूको धर्ना र आन्दोलन पश्चात नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सहमति गरिसकेको सहयोगी तथा सामुदायिक सेवा सम्बन्धी व्यवस्था कार्यान्वयनको माग गर्दै विगत २ हप्तादेखि पुन अनसनमा रहेका कारण स्वास्थ्य अवस्थामा समेत जोखिम बढिरहेको तर्फ नेपाली कांग्रेसले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाल सरकार आफैले सहमति गरेको तर कार्यान्वयन नगरेको सन्दर्भमा कार्यान्वयनको माग गर्दै अनिश्चितकालिन अनसनमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको न्यायोचित माग तत्काल सम्बोधन गरी जीवन रक्षा गर्न, शान्तिपूणर् सडक आन्दोलनका क्रममा पक्राउ परेका अपाङ्गता भएका व्यक्तिहरूलाई तत्काल रिहाइ गर्न र घाइतेहरुको स्वास्थ्योपचारको व्यवस्था गर्न नेपाली कांग्रेस नेपाल सरकारसँग जोडदार माग गरेको छ ।









