
काठमाडौं । फुङलिङ नगरपालिका-४ कोप्चे लाईनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम र नगद ३७ हजार ५ सय रूपैयाँसहित सोही नगरपालिका-७ बस्ने ४८ वर्षीय प्रेम कुमार गुरुङलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा गुरूङले उक्त लागूऔषध सोही नगरपालिका-१ बस्ने ३७ वर्षीय चन्द्र बहादुर लिम्बुसँग खरिद गरेको खुल्न आएपश्चाात प्रहरीले लिम्बुलाई समेत पक्राउ गरेको हो । यसैबीच बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ मिलिग्रामसहित भारत बिहार अररिया थाना फारबिसगंज बस्ने २२ वर्षीय मुजमिल अन्सरीलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









