
काठमाडौं । जातीय विभेदविरुद्धको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘पूजार सार्की’लाई सबैले हेर्न राष्ट्रिय दलित आयोगले आह्वान गरेको छ । फिल्मका निर्माता सुभाष भुसाललाई सम्बोधन गर्दै आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा जारी विज्ञप्तिमा फिल्मले शिक्षा दिने र समाज परिवर्तनको सन्देश प्रवाह गरेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘फिल्ममा देखाइए जस्तै आज पनि नेपाली समाजमा स्वैच्छिक विवाहलाई वर्जित गर्ने कुसंस्कार विद्यमान छ । शिक्षित र सभ्य मानिसहरूलाई यो गम्भीर प्रश्न पनि हो । सभ्य मानिसले सत्य कुरालाई स्वीकार नगर्नु असभ्यता हो । ‘पूजार सार्की’ले यस्तो अवस्थालाई उजागर पार्न खोजेको छ । नेपालका जातीय रुपमा अपमानितहरूले वरण गरिरहेका शब्दहरू आफै अङ्गीकार गर्ने सन्देश फिल्मले बोकेको छ ।’ फिल्मका लेखक विकास सुवेदीले राज्यको कुनै निकायले पहिलोपटक नेपाली फिल्मलाई यसरी सम्बोधन गरेको बताए ।









