
काठमाडौं । लक्ष्मण सुवेदीको तेस्रो निर्देशकीय फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक २ मिनेट ३३ सेकेण्डको टिजरले परिवारको वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ । छोरीले पनि परिवारप्रति आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने फिल्मको मूल कथा रहेको टिजरले प्रष्ट्याउँछ । आगामी साउन ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा अभिनेत्री मलिका महत मुख्य भूमिकामा छिन् भने रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ । फिल्ममा मलिका गाउँले चरित्रमा छन् । निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।









