
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणिकरण गरेका छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेका विधेयकमा आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएको बताइएको छ । सरकारले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित गर्ने उनको भनाइ थियो । उनले मुलुकको विकास, सुशासन कायम गर्दै आमजनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि पनि आफू प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेको उल्लेख गदै एमाले अध्यक्ष ओलीले यसपटक पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । प्रधानमन्त्री ओलीले मनसुनका कारण मुलुकका केही स्थानमा बाढीपहिरोबाट सडक, पुल भत्केका र जनधनको क्षति भएको वास्तविकता सुनाउँदै देशको भौगोलिक स्थितिले पनि यस्ता विपद्बाट जोगिन कठिनाइ भएको बताएका छन् । मन्त्रिपरिषद्को पहिलो बैठकले पनि दैवीविपत्ति जोखिम न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेको उनले बताएका छन् । त्यसैगरी गृहमन्त्री रमेश लेखकले कुनैपनि बेला विपद्का घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् । मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । वर्षा हुने समय अझै बाँकी रहेकाले त्यसलाई मध्यनजर गरी सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । गृहमन्त्री लेखकले यस वर्ष भारी वर्षा हुने आंकलन विज्ञहरुले गरेको भन्दै सुरक्षा निकाय, प्राधिकरण, प्रदेश सरकार र स्थानीय सरकार सजग रहनुपर्ने बताएका छन् । उनले विपद् सुरक्षा सम्बन्धी आवश्यक जनशक्ति र श्रोत साधनका लागि चाहिने रकम विनियोजन गर्न अर्थ मन्त्रालयसँग कुरा गर्ने पनि जिकिर गरेका छन् । उनले आर्थिक कारणले कुनैपनि काम नरोकिने प्रतिबद्धता समेत जनाएका छन् । अरु खर्च कटौती गरेर भएपनि नागरिकको ज्यान बचाउने कुरामा सरकार लाग्ने उनको भनाइ रहेको छ ।









