
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाको प्रगतिबारे सदनलाई जानकारी गराएका छन् । एमाले सांसद देवीप्रकाश भट्टचनले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उक्त आयोजना नेपाल विद्युत् प्राधिकरणको आयोजना विकास विभागअन्तर्गत रही सोही विभागबाट सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकनको काम भएको बताएका छन् । प्रधानमन्त्री ओलीले हाल उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना ‘स्पेसल प्रपोज भेइकल’को रूपमा विकास गर्न २०७४ सालमा उत्तरगंगा पावर कम्पनी लिमिटेडको स्थापना गरी कार्य अगाडि बढाइएको बताएका छन् । हालसम्म आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको, वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको, जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले विद्युत् उत्पादन अनुमतिपत्रको लागि विद्युत् विकास विभागमा आवेदन दिइसकिएको बताएका छन् । विद्युत् प्राधिकरण इञ्जिनियरिङ कम्पनीमार्फत आयोजनाको सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन प्राप्त भएपछि निर्माण ढाँचा र लागत ढाँचा निक्यौल गरी आगामी चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताएका छन् । यसैबीच गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित गृहमन्त्राल पुगेर राजदूत सङले गृहमन्त्री लेखकसँग बधाई ज्ञापनसहित भेटवार्ता गरेका हुन् । भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैं सौहार्दपूणर् सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । यस्तै उनले नेपालको पूर्वधार विकास लगायतका क्षेत्रमा चीन महत्वपूणर् विकास साझेदार रहेको बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिएका छन् । साथै गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयले जनाएको छ । राजदूत सङले पनि नेपाल र चीनबिचको मैत्रीपूणर् र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । यसैगरी राजदूत सङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध निन्यत्रण र दुवै मुलुकका नागरिकहरुको सुरक्षाको लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने भेटवार्तामा स्पष्ट परेका थिए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । विपद् व्यवस्थापन पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्व तयारीबारे केन्द्रित जरुरी सार्वजनिक महत्वको प्रस्ताव रास्वपाले सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको हो । प्रस्तावमा सांसद तोसिमा कार्की प्रस्तावक र सन्तोष परियार, गणेश पराजुली, असिम शाह, विराजभक्त श्रेष्ठ, निशा डाँगी र विन्दवासिनी कंसकार समर्थक छन् । प्रस्तावमार्फत रास्वपाले जनताको जीवन सुरक्षाको दायित्व बहन, मौलिक हक-अधिकार निश्चित गर्नुपर्ने, आकस्मिक स्वास्थ्य सङ्कटको अवस्था हुन सक्ने भन्दै त्यसबारे संसद्मा छलफल गर्नुपर्ने कारण खुलाएका छन् ।









